तनहुँ
दुलेगौंडा–हर्कपुर मोटरमार्ग अन्तर्गत बेसारेगौंडा टारखण्डको सडक कालोपत्रे भएको डेढ महिना नपुग्दै भत्किएको छ । शुक्लागण्डकी नगरपालिका–३ पहरेटारमा कालोपत्रे सडक भत्किएको हो ।
चैत अन्तिम साता ‘प्रिमिक्स कार्पेट पिच’ भएको सडक भत्किएपछि स्थानीय सरोकारवालाले गुुणस्तरमाथि प्रश्न उठाइरहेका छन् । विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रयाक खुलेको ३० बर्षपछि कालोपत्रे भएको सडकको अवस्था के हो रु भन्दै प्रश्न उठाएका छन् ।
भुलभुले बाराही टोल विकास संस्थाका अध्यक्ष विष्णुहरी गर्तौलाका अनुसार शुक्रबार विहान भएको भीषण बर्षाले सडक भाँसिएको हो । झन्डै २० मिटर सडक भाँसिएको उनले बताए । गर्तौलाका अनुुसार ढलान भएको ठाउँमा भने सडक भासिएको छैन । ‘निर्माण व्यवसायीले बनाउँछौ भनेर भन्नुभएको छ’, उनले भने ।
शुक्लागण्डकी नगरपालिका आफैंले बजेट व्यवस्थापन गरेर सडक कालोपत्रे गरेको हो । सडक कालोपत्रेको जिम्मा स्थानीय पासा कन्सट्रक्सनले लिएको थियो । शुक्लागण्डकी नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईका अनुसार ८५ लाख ८७ हजार २७७ रुपैयाँ ८३ पैसा ९भ्याटसहित० ठेक्का लागेको हो ।
पासा कन्सट्रक्सनका सञ्चालक इश्वर श्रेष्ठले अत्यधिक वर्षापछि नालामा पानी नअटेर सडकमै बग्दा कालोपत्रेभित्र पसेर भत्किएको बताए । गुणस्तरमा कुनै कमी नगरीकन नगरपालिकाले तोकेको मापदण्ड अनुसार नै सडक कालोपत्रे भएको उनले बताए । ‘माथिबाट पूरै भल आयो । ढुंगेनसहितको आछ । २ सेन्टिको पिचमा त भित्रबाट छिरेर गयो’, उनले भने । यदि काममा गुुणस्तरको कमी भएको भए सबै सडक बगाउने उनको प्रतिक्रिया छ । भाँसिएको सडकलाई मर्मत गरिदिने श्रेष्ठले प्रतिबद्धता जनाए ।
ओरालो सडकमा नालीले मात्रै पानी थेग्न नसक्दा भत्किएको देखिन्छ । यो सडक खण्ड कालोपत्रेको बेला शुक्लागण्डकीका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’, वडाध्यक्ष सचिन भुजेल, पूर्वाधार शाखा प्रमुख तारापति भट्टराई लगायत जनप्रतिनिधि र कर्मचारीले निरीक्षणसमेत गरेका थिए । गुणस्तरमा कमी आउन नदिने बताउदै पुगेका मेयर पण्डितले आफ्नो चुनावी एजेन्डा पूरा गरेको बताएका थिए । २०५० को दशकमा ट्रयाक खुलिएको सडक कालोपत्रे भएपछि स्थानीय निकै खुशी देखिन्थे ।