एक्लेडाँडामा बन्ने बुद्ध प्रतिमाको जग राखियो

दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा बन्ने २९ फिट अग्लो बुद्ध प्रतिमाको जग राखिएको छ । बुधबार विहान गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले बुद्ध प्रतिमाको जग राखेका हुन् ।

एक्लोडाँडोलाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले २९ फिट अग्लो बुद्ध प्रतिमा निर्माणमा गुरुङ मगर साँस्कृतिक एकता समाज जुटेको छ । गत वर्ष बुद्ध जयन्तिका दिन भूमिपूजन गरिएकोमा बुधबार जग राखिएको हो ।

बुद्ध प्रतिमाको जग राख्दै प्रदेश सभा सदस्य महतले एक्लेडाँडालाई पर्यटनको हब बनाउन सकिने बताए । लुम्बिनीपछिको प्रख्यात स्थल बनाउनुपर्ने उनको भनाइ थियो । ‘यो हाम्रो गौरव हो । भविष्यको सपना कस्तो देख्नुपर्छ भने सुरक्षित तारबारसहित नजिकै रिसोर्ट बनाउनुपर्छ’, उनले भने, ‘प्रदेशले पैसा हालेकै छ अब पनि नहाल्ने कुरा हुदैन ।’

शुक्लागण्डकी–९ का वडाध्यक्ष नारायणसिंह थापाले एक्लेडाँडामा बन्ने बुद्ध प्रतिमा शुक्लागण्डकीकै गौरव बन्ने बताए । ‘यो शुक्लागण्डकीको गौरवको योजना भएकाले सबै जातजाती, धर्म, संस्कृतिको साझा थलो बनाउनुपर्नेछ’, उनले भने ।

गुरुङ मगर साँस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरुङले छिटोभन्दा छिटो निर्माण सकेर धार्मिकसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सुनाए । ‘बुद्ध धर्मालम्वीका लागि धार्मिक स्थल बन्न सक्छ । अन्य समुदायका लागि शन्तिको थलो बन्नेछ’, उनको विश्वास छ ।

एक्लोडाँडामा बुद्धप्रतिमा निर्माण गर्न ६० लाख रुपैयाँको डिपआर तयार भएको समाजका सचिव अमरराज थापाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । तीनै तहका सरकारसँगै आर्थिक संकलन अभियान सञ्चालन गर्ने उनको भनाइ छ । बुधबार नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिका सचिव सरोज पौडेलले ७ हजार ५०० रुपैयाँ बुद्ध प्रतिमा निर्माणमा सहयोग गरेका छन् ।

जग राख्ने कार्यक्रममा गुरुङ मगर साँस्कृतिक एकता समाजका सल्लाहकार सुर्यबहादुर थापा, उपाध्यक्ष चन्द्र थापा, सचिव अमरराज थापा लगायतले बोलेका थिए ।

कोरोनाको कहरदेखि एक्लेडाँडामा स्थानीय पर्यटकको पदचाप बढेको हो । निषेधाज्ञाको बेला सामाजिक सञ्जाल फेसबुक, टिकटकमा भाइरल बनेपछि पर्यटक उक्लन थालेका थिए ।

पहिला पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेक वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धुपबत्ती बाल्थे । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने डाँडैभरी झिलीमिली ध्वजापतका टाँगिएको छ । जसले आगन्तुक पर्यटकलाई फहराउदै स्वागत गर्दछ ।

सधैँ दुलेगौँडा शहरको व्यस्ततालाई नियाल्दै एक्लै रहने एक्लेडाँडामा त्यही शहरका व्यस्त मान्छेहरु साँझ विहान टहलिन पुग्छन् । मौसम खुल्दा यहाँबाट देखिने हिमालको लर्कनसँगै नागबेली चालमा बगेको सेती र सुरौदीको दृश्य रोमाञ्चक देखिन्छ । सुशेली हाल्दै बतासले साउती मार्छ ।

पर्यटक बढेसँगै शुक्लागण्डकी नगरपालिका र वडा कार्यालयले पदमार्ग र शौचालय भने निर्माण गरिसकेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.