तनहुँ
स्नातक तह व्यवस्थापन संकाय अन्तर्गतको प्रथम बर्षको परीक्षामा नेपाल टपर अञ्जना राईलाई सम्मान गरिएको छ । गण्डकी मल्टिपल कलेज खैरेनीटारकी विद्यार्थी अञ्जनालाई आइतबार नगदसहित सम्मान गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट लिइएको परीक्षामा ८४ प्रतिशत अंक ल्याएकी अञ्जनाले नेपाल टप गरेकी हुन् । कलेजले आयोजना गरेको कार्यक्रममा उनलाई शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले दोसल्ला ओडाएर नगद ११ हजार १११ रुपैयाँको साथमा प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरे ।
त्रिभुवन विश्वविद्यालयको स्नातक तह व्यवस्थापन संकायको प्रथम बर्षमा नेपालकै उत्कृष्ट २० औं नम्बरमा पर्न सफल समिक्षा न्यौपानेलाई पनि सम्मान गरिएको छ । केही समय अगाडि प्रकाशित नतिजा अनुसार समिक्षाले ७७.८ प्रतिशत अंक प्राप्त गरेकी थिइन् ।
सम्मान कार्यक्रममा बोल्दै मेयर पण्डितले मोफसलका क्याम्पसहरु उत्कृष्ट भएको दरिलो प्रमाण पेश भएको बताए । उनले शैक्षिक गुणस्तरसँगै विद्यार्थीलाई व्यवहारिक बनाउनुपर्नेमा क्याम्पसले भूमिका खेल्नुपर्ने उल्लेख गरे । शिक्षाको गुणस्तरले प्रमाणपत्रमा अंक मात्रै नभइ मानव पुँजी निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले विद्यार्थीसँगै प्राध्यापक र अभिभावकले मेहनतले उत्कृष्ट नतिजा प्राप्त भएको बताए ।
गण्डकी मल्टिपल कलेजका सूचना अधिकारी लिलानाथ काफ्लेले मोफसलका क्याम्पसहरु राजधानीका क्याम्पससँग प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए ।
नेपाल टपर छात्रा राईले एक सेकेन्ड पनि खेरा नफालेर बुझाईका साथ पढ्नुपर्ने बताइन् । पढाईमा मेहनतसँगै सकरात्मक सोंच पनि आवश्यक पर्ने उनको भनाइ थियो ।