दुलेगौंडा– शुक्लागण्डकी नगरपालिकाले आगामि आर्थिक बर्षमा नापजाँच सम्पन्न भएको स्थानमा लालपुर्जा वितरण गर्ने भएको छ । आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख खुमबहादुर विक ‘राजु’ ले लालपुर्जा बाँड्ने उद्घोष गरे ।
‘भूूमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको आफुले भोग चलन गर्दै आएको जमीनको जग्गा धनी प्रमाणपुर्जा लालपुर्जा वितरण गर्ने कार्यअन्तर्गत वडा नम्बर २, ७ र ८ का नापीनक्शा सम्पन्न भएको स्थानहरुमा यथाशिघ्र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने तथा अन्य वडाहरुमा प्रचलित कानुनबमोजिम कार्यप्रक्रिया प्राथमिकताका साथ अगाडि बढाईनेछ’, उपमेयर विकले भने ।
निजी साझेदारीमार्फत गौरवको योजना कार्यन्वयन गर्ने उनको भनाइ छ । ‘शुक्लागण्डकी नगरपालिकामा स्थायी बसोवास भई देश विदेशमा रहेका लगानीकर्ता, निजी तथा सार्वजनिक संघ संस्था, नागरिक लगानी कोष, सहकारीलाई आकर्षित गर्दै सार्वजनिक निजी सहकारी साझेदारी, नेपाल पूर्वाधार बैंक, संघीय सरकारको स्वीकृतिपश्चात लगानीमा सहभागी हुने विदेशी संघ संस्था तथा विकास साझेदार निकाय समेतसंग सहलगानी, सहुलियतपूर्ण ऋण लगानी, अनुदान स्विकार गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसरी नगरपालिका क्षेत्रभित्र लगानीको वातावरण सुधार गर्न सार्वजनिक निजी साझेदारी, सार्वजनिक निजी सहकारीको अवधारणा कार्यान्वयन गरिनेछ । यसमार्फत नगरक्षेत्रभित्र सेती नदीमा चेक ड्याम नगर रङ्गशाला, नगर सिटि हल, पर्यटन, सूचना तथा पुर्नतार्जगी केन्द्र, नगर बसपार्क जस्ता गौरवका ठूला योजना लगायतका रणनैतिक आयोजना संचालन गरिनेछ साथै नवप्रवर्तनशील उद्योगहरुको स्थापना मार्फत भौतिक पूर्वाधारको स्तरोन्नति, नवनिर्माण तथा संचालन गर्दै शुक्लागण्डकी नगरको दिगो विकासलाई तिव्रता दिईनेछ ।’
शुक्लागण्डकीको सेवा प्रवाह केन्द्रलाई व्यवस्थित गर्न अनलाइन फाइल ट्रयाकिङ प्रणाली व्यवस्थापन गर्ने जनाइएको छ । नगर गुरुयोजना तयार पारेर सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्ने उल्लेख छ । आगमी बर्ष क्षमता विकास नाममा हुने गरेका भ्रमण तथा तालिमलाई न्यूनिकरण गर्दै लग्ने नीति लिइएको छ ।
नगर विकास कोषसँगको अनुदान, सहलगानीमा नगर सिटी हल, रिफरेसमेन्ट पार्क, सेती नदीकमा चेक ड्याम, ढोरबाराही मन्दिर परिसर व्यवस्थापन कार्य आगाडी बढाउन उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रम पढ्न यहाँ क्लिक गर्नुहोस्
निति तथा कार्यक्रम २०८२।०८३
‘विभिन्न सामुदाय, टोल विकास संस्था, युवा क्लब तथा अन्य संघ संस्थाबाट भवन निर्माणका लागि अत्याधिक माग भई आएको तथा निर्माण भएका भवनको पूर्ण उपयोगिता सुनिश्चित गर्न थप समुदायिक भवन निर्माणलाई निरुत्साहित गर्दै निर्मित भवनको बहउपयोगितालाई प्राथमिकतामा राख्ने नीति लाई निरन्तरता दिइएको छ’, उपमेयर विकले सुनाए ।
आगमी बर्ष ५०० घरधुरी विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमामा आबद्ध गराउने नगरपालिकाको लक्ष्य छ । बाँझो जमिन राख्ने कार्यलाई निरुत्साहीत गर्न परम्परागत कृषि अनुदान प्रणालीलाई विस्थापित गर्दै उत्पादनमा आधारित अनुदान दिने नगरपालिकाले जनाएको छ । दुग्ध उत्पादनमा प्रति लिटर २ रुपैयाँ अनुदान दिदै आएकोमा आगामी आर्थिक बर्षमा रकम वृद्धि गरिने उल्लेख छ । ‘फलफूल तथा तरकारीमा प्रति किलो २ देखि ५ रुपैयाँसम्म अनुदानको व्यवस्था गरी बेलचौतारा स्थित कृषि उपज संकलन केन्द्र संचालन गर्न आवश्यक रकमको व्यवस्था गरिएको छ’, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, ‘सवै वडाहरुमा सुचिकृत कृषकलाई कृषक परिचयपत्र प्रदान गरिने छ । अनुदान तथा बिक्रि कार्यको लागि आवश्यक कार्यविधी तयार गरि लागू गरिनेछ ।’
कृषि उत्पादनको बजारीकरण मार्फत उपभोक्तालाई ताजा तरकारी उपलब्ध गराउन विभिन्न वडामा रहेका सामुदायिक भवनहरूलाई कृषि उपज संकलन केन्द्रको रुपमा उपयोग गरी कृषि एम्बुलेन्स मार्फत कृषि उपज संकलन तथा बिक्री केन्द्रमा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउने नगरपालिकाको दाबी छ ।
सहकारी संस्थाको दर्ता नवीकरण तथा नियमनको कार्यलाई थप प्रभावकारी बनाउने उल्लेख छ । नगरक्षेत्रका परम्परागत बाजागाजा, वाद्यवादन भजन, कौराहा, चुट्का, झ्याउरे, घाटु, सोरठी, पाङ्दुरे, बालन, लाँखे जस्ता मौलिक कला संस्कृतिको संरक्षण गर्दै प्रवद्र्धन गरिने बताइएको छ ।
‘पर्यटकिय स्थल भुजिकोट, दगाम, मिलिनियम पदमार्ग, चरीमार्ग लगायतका स्थानहरुको एकिकृत पर्यटन विकासका कार्यक्रम सञ्चालन गरि आन्तरिक तथा वाह्य पर्यटक भित्राइने सो क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने छ’, उपमेयर विकले सुनाए ।