ऋषिङका गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदको छोरा

तनहुँ

तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसदका छोरालाई कुटपिट गरेका छन् । श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पूरानो स्कुलस्थित आफ्नै घरमा ५७ वर्षीया प्रभात आलेलाई कुटपिट गरेका छन् । कुटाइ खाएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गिय पदमबहादुर आलेका छोरा हुन् । अहिले गण्डकी प्रदेश सभा सदस्य रहेका नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेका सहोदर भाई हुन् । कुट्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत हुन् ।

यो घटना फागुन ७ गते रातीको हो । प्रहरीले जाहेरी लिन नमानेपछि बल्ल घटनाबारे सार्वजनिक भएको छ ।

जग्गाको विषयमा भएको विवादले गाउँपालिका अध्यक्षले आफूमाथि कुटपिट गरेको आलेले बताए । पीडित दाबी गरेका आलेका अनुसार भाइ विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए । ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति थियो । सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भयो ।

विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको उनको आरोप छ । ‘मैले उहाँलाई फोनमार्फत लौ यो विषय टुंग्याम भन्दाखेरिमा उहाँले घर आइज न त भनेर भनेपछि मेरो उहाँसँग एक मिनेटमात्रै कुरा भाछ । तुरुन्त घर गएँ’, प्रभातले भने, ‘उहाँको श्रीमतिले ढोका खोल्नुभो । झड्याम झड्याम देब्रोपट्टि फिलामा पिभिसी पाइप.. । यो नियोजित पहिल्यै तयारी गरेर पिभिसीको ठूलो पाइपले हाने । मैंले दुई तीन चोटी छेकें । उहाँले दुई हातले हानेर कानको जालीमा हानेर कान पनि सुन्दिन ।’

प्रभातले मंगलबार तनहुँको बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएको बताए । जिपी अस्पातलले थप परीक्षणका पोखरा गएर गर्नुपर्ने बताएको उनको दाबी छ ।

आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । फागुन ७ गते बेलुका ८ बजेर ५५ मिनेटको समय आसपासमा प्रभात आफैंले फोन गरेको श्रेष्ठ बताउँछन् । आफूले भोलि कुरा गरौंला सम्मानसाथ भनेको सुनाए । ‘घरमै आएर तिमलाई ठीक गर्छु । तिमीसँग मेरा वार की पार हुन्छ भन्यो । त्यस भए आउन त किन भनेर भनियो’, उनले भने । प्रभात आएपछि श्रीमति शुसिलाले ढोका खोल्दिएको श्रेष्ठले बताए ।

‘ढोका खोल्दिएपछि मलाई झ्याप्पै टाउकोमा हान्यो । मैले हाँसेरै प्रभात जि तपाईंले हानीहाल्नुभो । त्यस्तो केही छैन मैले दिमागमा बसाउँदिन भनेर भनें । त्यतिभन्दा पनि उ गेटैबाट भित्र छिरेर श्रीमतिलाईसमेत यताउता गर्न खोज्यो’, उनी भन्छन्, ‘त्यहाँबाट म बाहिर निस्केर त्यतिखेर आफ्नो रक्षा त गर्नप¥यो । पछि फेरी मलाई गालामा हानेपछि असह्य भएपछि मैले पाइपले हान्देको हो ।’

कुटपिट भएपछि किन घटनाबारे कतैं जानकारी गराउनुभएन ? तनहुँखबरले श्रेष्ठलाई सोध्यो । आफूमाथि कुटपिट भएपछि सबैतिर सम्बन्धित ठाउँमा जानकारी गराएको बताए । ‘मेरो नैतिकताले नभएर जानकारी नगराएको हो’, उनले भने ।

कुटाइ खाएका प्रभात बुधबार जाहेरीका लागि इलाका प्रहरी कार्यालय बेलचौतारामा आएका छन् । दिनभर प्रहरीले जाहेरी नलिएको उनले बताए । मुद्वा फाँटले उपचार गराएर आउन आग्रह गर्दै जोहरी नलिएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले ठाडो निवेदन परेको बताए । जाहेरीका सम्बन्धनमा अनुसन्धान गरेर लिने बताए । प्रहरीसँग भन्दा पनि अदालतबाट सिधैं मुद्वा दर्ता गराउन सकिने थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले कुटपिटको घटनामा जसले पनि जाहेरी दिनेवित्तकै नलिइने उनको प्रतिक्रिया छ । ‘कुटपिटको विषयमा घाउ जाँच हुन्छ । घटनाको विषय लिएर बुझ्ने हो । घाउ जाँच गरेर प्रहरीले बुझ्ने काम गरिरहेको छ’, एसपी शाहीले भने । त्यसपछि प्रक्रिया सुरु हुने उनले बताए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.