चौथो शुक्लागण्डकी महोत्सवको तयारी तीव्र

दुलेगौंडा
चौथो शुक्लागण्डकी महोत्सवको तयारीलाई तीव्र पारिएको छ । शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा फागुन ९ देखि २० गतेसम्म महोत्सव हुदैछ ।

महोत्सवलाई भव्य रुपमा सफल पार्न आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले बिहिबार अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी संघसंस्थाका प्रतिनिधिले एजकुट भएर महोत्सवलाई सफल बनाउनुपर्ने बताए । उनीहरुको एकमत थियो, ‘शुक्लागण्डकी महोत्सवलाई यो क्षेत्रको पहिचानका रुपमा स्थापित गराउनुपर्छ ।’

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विकले प्रविधिको विकाससँगै बालबालिका एकलकाटे बनिरहेकाले महोत्सव उनीहरुलाई सिकाइको थलो बन्नुपर्नेमा जोड दिए । ‘बालबालिकाले सिक्न लायक विषय समेट्नुपर्नेछ । शुक्लागण्डकीमा उत्पादित भएका वस्तु नयाँ पुस्तालाई कति देखाउन सक्छौं त्यो महोत्वपूर्ण हुन्छ’, उनले भने । फगत महोत्सवका रुपमा विकास नगर्न उनको सुझाव छ ।

पूर्वअध्यक्ष विमलप्रसाद रिमालले महोत्सव सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए । शुक्लागण्डकीबासीको महोत्सव भएको उनको भनाइ थियो ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले महोत्सवलाई पृथक बनाउने प्रयास भइरहेको बताए ।

महोत्सवको मुख्य आकर्षणका रुपमा साँस्कृतिक झाँकी प्रदर्शनी, पर्यटन प्रबद्र्धन, नृत्य प्रतियोगिता, सांगीतिक कार्यक्रम, भलिबल प्रतियोगिता रहेका छन् । दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, खानाका परिकार, ऐतिहासिक स्थलको पदयात्रा, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, पुष्प प्रदर्शनी तथा विक्री, सुन्तला, मास, अदुवाको प्रदर्शनी तथा खरिद विक्री हुनेछ महोत्सवका प्रवक्ता सुजन श्रेष्ठले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.