दुलेगौंडा– १६ औं संस्करणको तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ । दमौलीमा आइतबार सम्पन्न भएको प्रतियोगितामा शुक्लागण्डकीले कुल १८ पदक जित्दै रनिङशिल्ड हात पारेको हो । शुक्लागण्डकीका विद्यार्थी खेलाडीले ८ स्वर्ण, ६ रजत र ६ कास्य पदक जितेका हुन् ।
पदक विजेता खेलाडीलाई शुक्लागण्डकी नगरपालिकाले नगदसहित सम्मान गरेको छ । सोमबार नगरपालिकामा एक कार्यक्रम गर्दै पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई र सम्बन्धित विद्यालयका शिक्षकलाई सम्मान गरेको हो ।

स्वर्ण पदक विजेता खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । रजत जित्ने खेलाडीले ४ हजार रुपैयाँ र कास्य जित्ने खेलाडीले ३ हजार रुपैयाँ प्राप्त गरे ।
खेलाडीलाई शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे लगायतले सम्मानसँगै नगद प्रदान गरेका हुन् ।
सम्मानपछि बोल्दै उपमेयर खुमबहादुर विक ‘राजु’ ले खेलाडीको मेहनतले शुक्लागण्डकीको पहिचान बढाएको बताए । राष्ट्रपति रनिङशिल्डमा जस्तै बाँकी जीवनमा पनि अब्बल सावित गर्न उनको अनुरोध छ । ‘यहाँहरुको मेहनत निरन्तर रहनेछ । र राष्ट्रिय प्रतियोगितामा पनि यहाँहरुले जित्न सफल हुनुहुनेछ । यसका लागि नगरपालिकाले आफ्नो दायित्व निर्वाह गर्नेछ’, उनले भने ।
मेयर कृष्णराज पण्डितले शैक्षिक सुधारमा लागेको परिणाम राष्ट्रपति रनिङशिल्डले देखाएको बताए । नगरपालिका शिक्षा सुधारमा लागिरहेको उनको भनाइ छ । ‘चाहे विद्यार्थीको क्षेत्रमा होस् या चाहे शिक्षकको क्षेत्रमा या विद्यालय व्यवस्थापनको क्षेत्रमा सहजीकरण गर्ने विषयमा नगरपालिका र शिक्षा शाखा तपाईंहरुको पक्षमा छ’, उनले भने ।

कुन पालिकाले कति पद जिते ?
व्यास नगरपालिका २० पदक जित्दै दोस्रो भएको छ । व्यास नगरपालिकाले ८ स्वर्ण, ५ रजत र ७ कास्य पदक जितेको छ । बन्दीपुर गाउँपालिका ३ स्वर्ण, २ रजत जित्दै तेस्रो स्थान हासिल ग¥यो ।
घिरिङ गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ३ कास्य जितेर चौंथो स्थान हासिल गर्न सफल भयो । भीमाद नगरपालिकाले २ स्वर्ण, १ रजत र ३ कास्य जित्दै पाँचौ भएको हो ।
ऋषिङ गाउँपालिका २ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै छैटौ हुँदा देवघाट गाउँपालिका ३ स्वर्ण, १ रजत र १ कास्य पदक जित्दै सातौं भएको छ । म्याग्दे गाउँपालिका १ स्वर्ण, ६ रजत र ८ कास्य पदक जित्दै आठौं र भानु नगरपालिका १ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै नवौं भएको छ ।