दुलेगौंडा–बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले कुटपिट तथा अभद्र व्यवहार मुद्वामा १० हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
वडाध्यक्ष गुरुङले सोमबार विहान वडासचिव नविन भुसाललाई वडाध्यक्ष कप भलिबलको बिल भुक्तानीको विषयमा विवाद भएपछि कुटपिट गरेका थिए । वडाध्यक्षको कुटपिटबाट घाइते भएका भुसाललाई बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पु¥याइएको थियो । अस्पतालले सोमबार राती ९ बजे डिस्चार्ज गरेपछि घरैमा आराम गरिरहेका छन् ।
गाउँपालिकाले सोमबार नै कानुन बमोजिम कारबाही गर्न प्रहरी प्रशासनमा पत्राचार गरेको थियो । कर्मचारी संगठनले दबाब दिएपछि वडाध्यक्ष बलबहादुरलाई सोमबार दिउँसो इलाका प्रहरी कार्यालय बन्दीपुरले पक्राउ गरेर हिरासतमा राखेको छ । भुसालले चितवनबाटै कुटपिट तथा अभद्र व्यवहारमा मंगलबार किटानी जाहेरी दिएका छन् ।
कुटपिट तथा अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन अनुमति पाएको जिल्ला प्रहरी कार्यालयका तनहुँका सूचना अधिकारी राजु अधिकारीले बताए ।