नेपालको सरकारी विद्यालयले ठूलै परिवर्तनको अपेक्षा र आशा गरेको छ । तर विडम्बना, सरकारी विद्यालय र विद्यार्थीहरूको बिचल्ली देख्दा स्थिति निराशाजनक छ । कारण, सरकारी विद्यालयमा पढाइ कम र बिदा बढी हुने गरेको देखिन्छ । सरकारी विद्यालयमा वर्षको लगभग २०० दिन त विभिन्न शीर्षकमा बिदा नै हुने गर्छ ।
कहिले गर्मी बिदा त कहिले बर्खा बिदा ! कहिले रोपाइँ बिदा त कहिले हिउँदे । त्यसमाथि दसैँतिहारलगायतका चाडपर्वले गर्दा सरकारी विद्यालयमा पढाइभन्दा बढी बिदा हुने गरेको छ । दुःखलाग्दो कुरा त के छ भने सरकारी विद्यालयमा विद्यार्थीभन्दा बढी शिक्षकहरूमा बिदाको दुर्व्यसनी बढी रहेछ । स्कुल बिदा हुने र खुल्ने समय अघिपछि शिक्षकहरू घर जाने र विद्यालय आउनेलगायतका विभिन्न कारण देखाई बिदा बढी लिँदारहेछन् । जसले गर्दा सरकारी विद्यालयको क्यालेन्डरमा अधिकांश मिति र बारमा रातो रङ बढी देखिन्छ ।
क्यालेन्डर मात्रै होइन, विद्यार्थीको भविष्यमा पनि यसले ‘रातो’ संकेत गरेको छ । जसका कारण अधिकांश समय विद्यार्थीहरू पढ्न रुचाउँदैनन् । भन्छन्, ‘सर, आज भर्खर त स्कुल खुल्यो, कोही त आको छैन सर, घर जान्छु ल टिफिन टाइमपछि ।’ अनि फेरि बिदा नजिकिँदै गर्दा, ‘सर साथीहरू कम छन्, आज पढाइ पनि भाको छैन, घरमा काम छ । जान्छु ल सर ।’
बिदाको बहानामा यसरी विद्यार्थीहरूमाथि खेलवाड भइरहँदा म एक शिक्षकको नाताले दुःखी हुन्छु । न शिक्षकमा गम्भीरता छ, न विद्यार्थीमा पढाइको महत्त्व बुझाउन सकिएको छ । उल्टै शिक्षक नआइदिए हुन्थ्यो भन्ने मानसिकता विद्यार्थीमा हुर्कंदै गएको देखिन्छ । म यदाकदा विद्यार्थीहरूसँग पोखिन्छु– यदि बिदा नै चाहिने हो भने किन स्कुल आउँछौ ? उनीहरूका मिश्रित जवाफ आउँछन्ः
– सर, घरमा आमाले चाँडै बोलाउनुभा’को छ । ’आमा बिरामी छिन्’ भन्ने खालको जवाफ आउँछ । अर्की थप्छिन्– सर आमाले हाजिर मात्र भए नि गर्न जाऊँ भन्नुभएको छ । र, कतिपय विद्यार्थी नाजवाफ हुन्छन् । कोही शिर निहुराएर आफ्ना साथीभाइको अनुहारतिर हेरेर निःशब्द हाँसो फलाक्छन् ।
मलाई चिन्ता लागेर आउँछ स्कुलको, विद्यार्थीहरूको, तिनीहरूको भविष्यको र तिनीहरूसँग जोडिँदै आएको तपाईं हाम्रो भविष्यको ।
आजका विद्यार्थी हाम्रा भविष्य हुन् । अबको १०–१५ वर्षमा यिनीहरू विभिन्न क्षेत्रमा लागिसकेका हुनेछन् । कोही कृषिमा, कोही शिक्षण पेसामा, कोही डाक्टरी, पत्रकारिता, इन्जिनियर, राजनीतिक, कूटनीतिक, कलाकार, व्यापारीलगायतका थुप्रै पेसामा संलग्न हुनेछन् । त्यसबेला तिनीहरूले तपाईं हामीलाई सेवा दिनेछन् र हामी पनि उनीहरूकोमा सेवा खोज्दै जानेछौँ ।
मानौँ, तपाईं बिरामी परेर अस्पताल जानुभयो र अहिले तपाईंले पढाउनुभएका विद्यार्थी डाक्टर बने भने के तपाईं ढुक्क भएर ऊबाट उपचार गराउन चाहनुहुन्छ ? भोलि, तपाईंलाई राज्यबाट सुविधा चाहियो । तपाईं वडामा, महानगरमा, प्रदेशमा आफ्नो सरकारी काम गर्नका लागि जाँदा तपाईंले पढाएका विद्यार्थी नेतृत्वकर्ता हुँदा के तपाईं खुसी हुनुहुनेछ, उनीहरूबाट सेवा लिन ?
यी केही सोच्न योग्य घटना मात्र हुन् । साँच्चै, यदि तपाईंले उनीहरूको भविष्य सोचेर, उनीहरूलाई राम्रो शिक्षादीक्षा दिएर मार्गदर्शन दिनुभयो भने भोलि उनीहरू गर्व गर्न लायक भविष्य हुन सक्छन् । अन्यथा आफूले पठाएको विद्यार्थी हो भन्न पनि लाज मान्नुपर्ने स्थिति नआऊला भन्न सकिन्न । यो लाजको भारी बोक्नुभन्दा पहिले नै शिक्षक जिम्मेवार भइदिने हो भने देशले काया फेर्न सक्छ । तर, तपाईंहामीजस्ता सरकारी शिक्षक बेइमान भयौँ । विद्यार्थीलाई दिनुपर्ने समय, ज्ञान, सीप सिकाउन कन्जुस्याइँ गर्ने भयौँ । भ्रष्टाचार ग¥यौँ, विद्यार्थीहरूको भर्ना र शुल्कमा ।
भविष्यका सम्भावना, चुनौती, अवसरलाई मध्यनजर गरेर अहिलेदेखि नै मिहिनेत गर्ने हो भने कम्तीमा पनि अबको २० वर्षपछिको आफ्नो भविष्य सुनिश्चित हुन्छ । जुन बेला आजका विद्यार्थीले नेतृत्व लिइरहेका हुनेछन् । गर्व गर्न लायकको शिक्षक बन्न किन कन्जुस्याइँ गर्ने ? आखिर धेरै पनि त गर्नुपर्दैन । बस्, आफूलाई दिएको जिम्मेवारी र अलिकति थप आफैँले आफैँलाई दिएको जिम्मेवारी पूरा गरे पुग्छ ।
जस्तै; अन्य कुनै कक्षामा शिक्षक अनुपस्थित हुँदा जिम्मेवार शिक्षकले कक्षा लिइदिन सक्छ । कक्षामा क्विज, खेल, गीत/नृत्य गराउन सक्छ । कक्षाकोठा कतै फोहोर छ भने विद्यार्थीहरूलाई नै सफा गर्न सिकाउन सकिन्छ । समयमा घण्टी बजेन भने बरू प्रधानाध्यापकलाई सोधेर घण्टी समयमा बजाइदिन सक्छ । कुनै कमजोर विद्यार्थी छन् भने तिनीहरूका लागि अतिरिक्त क्लास लिएर सघाउन सक्छ ।
यस्ता थुप्रै उदाहरण हुन सक्छन्, जुन तपाईं/हामी शिक्षकले नलेखिएको वा नभनिएको जिम्मेवारी हो भन्ने थाहा पाएरै पनि वहन गर्न सक्छौँ । यसले गर्दा तपाईंको शिक्षण पेसाको भविष्य त बलियो हुन्छ नै, साथै विद्यार्थी, अभिभावक र स्कुलको सरोकारवालाहरूको प्रिय र रोल मोडल पनि बन्नुहुनेछ तपाईं ।
खासमा अहिले हामीलाई शिक्षाक्षेत्रमा ज्युँदो जल्दोबल्दो केही रोल मोडलहरू चाहिएका छन् । जसलाई हेरेर सरकारी विद्यालयमा आफैँलाई पनि जोस, जाँगर अनि हौसला बढोस् । यसरी एउटा विद्यार्थीको जीवन, मस्तिष्क, स्वभाव अनि चेतनामा एउटा शिक्षकले धेरै लगानी गर्न सक्छ । अन्यथा विद्यार्थी, स्कुल, समाज सबैलाई धोका दिएबराबर हुनेछ । यदि केही गर्न सकिँदैनजस्तो लाग्छ भने ठाउँ खाली गरिदिए मात्रै पनि पुग्छ । बरू कोही न कोही विद्यार्थीको जीवनमा प्रभाव पार्न सक्ने अर्को शिक्षकलाई आउन सक्ने बाटो त खुल्ला हुन्छ ।
त्यसैगरी, सरकारी विद्यालयमा परिवर्तनको ठूलो आवश्यकता छ । शिक्षकको पदपूर्ति मात्र होइन, शिक्षकको योग्यता, दक्षता र इच्छाशक्तिमा पनि लगानी हुन आवश्यक छ । विद्यार्थीको सपनामा उडान भर्न सक्ने शिक्षकको खाँचो छ । तपाईं÷हामी त्यस्तो शिक्षक हुनेतर्फ अग्रसर पो हुने हो कि !
(लेखक मोइन उद्दिन टिच फर नेपालका अलुम्नाई हुन् । हाल उनी रूपान्तरणमुखी सिकाइ सहजकर्ताको भूमिकामा उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा अवस्थित तामाङखर्क उच्च मावि र वडा ३ र ४ मा रहेका फिडर स्कुलमा कार्यरत छन् ।)