भुजिकोट उकालो दौडको उपाधि ओखलढुंगाका टंकबहादुर कार्कीलाई

तनहुँ
दोस्रो कोत्रे–भुजिकोट–स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुंगाका टंकबहादुर कार्कीले जितेका छन् । सोमबार नयाँ वर्षको अवसर पारे आयोजित दौडमा उनले १६५ धावकलाई पछाडि पार्दै उपाधि जितेका हुन् ।

९ किलोमिटरको निर्धारित दूरी उनले ४३ मिनेट ४०.११ सेकेन्डमा पार गर्न सफल भए । उनले उपाधिसँगै नगद ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पारेका छन् ।

खोटाङका गजेन्द्र राईले ४३ मिनेट ५५.४० सेकेन्डमा दौड पूरा गरेर दोस्रो भए । रोल्पाका मानकुमार रोका मगरले ४४ मिनेट १३.४० सेकेन्डमा दौड सकाएर तेस्रो, धनकुटाका उमेश थापा ४४ मिनेट ३६.५५ सेकेन्डमा पूरा गर्दैै चौंथो र भक्तपूरका विकास राईले ४५ मिनेट १७.९० सेकेन्डमा दूरी पूरा गर्दै पाँचौ स्थान हासिल गरेका छन् ।

दोस्रो, तेस्रो, चौंथो र पाँचौले क्रमशः २२ हजार २२२ रुपैयाँ, ११ हजार १११ रुपैयाँ, ५ हजार ५५५ रुपैयाँ र तीन हजार ३३३ रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पारे । उत्कृष्ट २० धावकलाई मेडल प्रदान गरियो ।

महिलातर्फ लमजुङकी विपना लामाले एक घण्टा २ मिनेट ३२ सेकेन्डमा दूरी पार गरेर प्रथम स्थान हासिल गरेकी छन् । लमजुङकै करुणा गुरुङले एक घण्टा ४ मिनेट २० सेकेन्डमा पार गरेर दोस्रो र तनहुँकी सरस्वती डुम्राकोटीले एक घण्टा ९ मिनेट ५६ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेकी छन् । उनीहरुलाई क्रमशः पाँच हजार रुपैयाँ, तीन हजार रुपैयाँ र दुई हजार रुपैयाँ नगद पुरस्कारकोे साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेता खेलाडीलाई प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, प्रदेश सभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’ पुरस्कृत गरे ।

अन्नपूर्ण युवा क्लबले पर्यटन प्रबद्र्धनको उदेश्य राखेर दौडको आयोजना गरेको हो । शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने पर्यटकीय गाउँ भुजीकोट, स्थानथोकलाई दौडको माध्यमबाट चिनाउन प्रतियोगिता गरेको आयोजकले जनाएको छ । २०७५ सालमा पहिलो पटक उकालो दौड भएको थियो । ७ वर्षपछि दौडलाई निरन्तरता दिइएको हो । अब हरेक वर्ष आयोजना गर्ने उद्घोष गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.