पोखरा-
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने लगायत सात जनालाई धरौटीमा छाड्ने आदेशको कैफियत प्रतिवेदन माग भएको छ ।
उच्च अदालत पोखराले मंगलबार सो आदेश दिएको हो । न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र कैफियत प्रतिवेदन मागेको उच्च अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए ।
`पेशी तोकिएको दिनमा सक्कल बुझाउनुपर्नेछ´, उनले भने। यस्तै, प्रतिवादीलाई उच्चमा निवेदन परेको जानकारी गराउन भनिएको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीको आदेशविरुद्द उच्चमा निवेदन दिएको थियो ।
पुस २५ गते जारी भएको थुनछेक आदेशले रवि लामीछानेलाई ६५ लाख, पूर्वडिआईजी छविलाल जोशीलाई ८८ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, लिला पछाईंलाई ३७ लाख, पूर्वसांसदसमेत रहेकी सूर्यदर्शन सहकारीकी संस्थापक उपाध्यक्ष मीना गुरुङलाई ५ लाख, पूर्वकोषाध्यक्ष आरती गुरूङलाई ५ लाख, पूर्वसञ्चालक कृष्णबहादुर गुरूङलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न भनेको थियो ।
लिला बाहेक ६ जना सोही दिन धरौटी बुझाएर रिहा भएका थिए । लिला भने भोलिपल्ट मात्रै धरौटी बुझाएर छुटेकी थिइन् । प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको कार्यालयको माग हो ।