पोखरा
टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी भलिबल संघ एलिमिनेटरमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरा रंगशालामा जारी पाँचौ संस्करणको टाइगर कपको एलिमिनेटरमा प्रवेश गरेको हो ।
हेल्प नेपाललाई गण्डकीले ३–१ को सेटमा पराजित गर्न सफल भयो । पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन ग¥यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पा¥यो ।
यो जितसँगै गण्डकी ‘हार्ने समूह’ बाट ६ अंकसाथ शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल २ र एपिएफ एक अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएका छन् । गण्डकीले अब शुक्रबार ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहेको भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटर खेल्नेछ ।
यसअघि भएको खेलमा ‘जित्ने समूह’ मा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ ।
यस्तै बिहिबार बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत शनिबारदेखि सुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्रसँगै टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सहभागिता जनाएका थिए ।
महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी भएका हुन् ।
पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ ।
तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ ।