पोखरा
टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमण्डले सुखद सुरुआत गरेका छन् ।
शनिबारदेखि सुरु भएको पाँचौ संस्करणको प्रतियोगितामा एपीएफ र न्यु डायमण्डले जित निकाल्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुप अफ नेपालको टोलीबीचको खेल स्थगीत भयो ।
पहिलो दिनको अन्तिम खेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो । पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोलीले २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल ग¥यो । त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरे ।
शनिबार भएको पहिलो खेलमा शसस्त्र प्रहरी बलको एपिएफले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित ग¥यो । दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।
पुरुषतर्फको पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हुनेछ । दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ ।