टाइगर कप भलिबलः सुनिल, पुलिस र आर्मीको जित

पोखरा

पाँचौं संस्करणको टाइगर कप भलिबल कपमा पुरुषतर्फ दुई विभागीय टोली पुलिस र आर्मीसँगै पाहुना टोली भारतको सुनिल क्लबले सुखद सुरुआत गरेका छन् ।

आइतबार पुरुषतर्फ ३ र महिलातर्फ एक खेल भयो । पुरषतर्फको पहिलो खेलमा साविकको विजेता टिपटप हेल्प नेपाललाइ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्रले ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो र तेस्रो संस्करणको विजेता गण्डकी प्रदेश भलिबल संघलाई नेपाल पुलिस क्लबले ३–२ को सेटमा स्तब्ध बनायो । आइतबारको अन्तिम खेलमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मैदान साटे । एपीएफमाथि आर्मीले ३–० को सहज जित निकालेको छ ।

आइतबार नै महिलातर्फ आयोजक टाइगर ग्रुप अफ नेपालको टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको भलिबल मैदानमा बिहान भएको खेलमा आयोजकको टोलीले विभागीय टोली आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा अब लिग चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा जित निकाल्ने टोली र पराजित हुने टोलीले छुट्टाछुट्टै लिग खेल्नेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्रसँगै टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सहभागिता जनाएका छन् ।

महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी छन् ।

पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ।

तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.