पोखरा
पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि सुरु हुदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा २ विदेशीसहित ६/६ टोली प्रतिस्पर्धामा उत्रनेछन् । पुरुषतर्फ घरेलु टोली गण्डकी भलिबल संघ पनि सहभागी हुदैछ ।
गण्डकीले हरि पाण्डेको कप्तानीमा टाइगर कप खेल्ने १२ सदस्यीय टोलीको घोषणा गरेको छ । ३ विदेशी खेलाडीलाई समेट्दै गण्डकीको टोली घोषणा गरिएको हो ।
ट्युनिसियाका फाहिम मिलाडी, कंगोका यानिक सेशा र भारतका रोमन कुमारलाई गण्डकीले टाइगर कप खेल्नलाई भित्र्याएको छ । गण्डकीले यसपालि स्याङजाका सञ्जुविक्रम शाहलाई पनि टोलीमा फर्काएको छ । हेल्प नेपालबाट खेल्दै आएका पाण्डे गण्डकीमा फर्किएसँगै टोली झनै बलियो बनेको छ ।
सञ्जुसँगै गण्डकीको टोलीबाट हरि पाण्डे, विवश आले, सन्तोष विक र इन्द्र विकले खेल्नेछन् । नरबहादुर सुनार, हिमाल सुनारी, विश्वास अधिकारी र कुञ्जन शाही पनि गण्डकीको टोलीमा अटाएका छन् । टोलीका प्रशिक्षकमा पूराना र अनुभवी रमेश केसी छन् ।
गण्डकी टाइगर कपको पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली हो । गत संस्करणमा उपविजेता भएको गण्डकीले यो संस्करणमा उपाधि हत्याउने दाउमा देखिन्छ । टाइगरको दोस्रो संस्करण नेपाल आर्मीले र चौंथो संस्करण हेल्प नेपालले जितेका थिए ।
महिलातर्फ पहिलो संस्करण नेपाल पुलिस क्लबले जितेको थियो । त्यसपछिको तीन संस्करण जित्दै सशस्त्र प्रहरी बलको एफीएफ क्लबले ह्याट्रिक गर्न सफल भएको हो ।
शनिबार विहान १० बजेदेखि पोखरा रंगलशालाको भलिबल कोर्टमा सुरु हुने टाइगर कप भलिबल माघ १९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रसँगै हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सहभागिता जनाउनेछन् ।
महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल खेल्नेछन् । यसपालि गण्डकीको सट्टामा आयोजक टाइगर ग्रुपले छुट्टै महिला टोली सहभागी बनाएको हो ।
पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उनका अनुसारउपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ । तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ ।