पोखरा-पाँचौं टाइगर कप भलिबलमा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ नेपालको टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालाको भलिबल मैदानमा आइतबार बिहान भएको खेलमा आयोजकको टोलीले विभागीय टोली आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–२१ म गुमायो । यसअघि शनिबार खराब प्रकाशका कारण खेल स्थगित भएपछि आइतबार पुनः खेलाइएको हो ।
आयोजक टोलीको नेतृत्व राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गरेकी छन् । टोलीमा ३ थाइल्यान्डका खेलाडी समावेश गरिएको छ ।
प्रतियोगितामा पुरुषतर्फका खेल सुरु भएको छ । पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब कुरु क्षेत्रले खेलिरहेका छन् । पहिलो सेट हेल्प नेपालले २४–२२ को जित निकाल्न सफल भएको हो ।
दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबसँग र त्रिभुवन आर्मी क्लबले भिड्ने छन् ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।