दुलेगौंडा
व्यास नगरपालिका– ५ बेनीपाटनस्थित पराशर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको छ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रको विद्यालयलाई भवन बनाइदिएको हो ।
विद्यालयको २ तलाको ८ कोठाको पक्की भवन आयोजनाले निर्माण सम्पन्न गरेर हस्तानतरण गरेको छ । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा बनाइएको भवन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।
नवनिर्मित भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले लागू गरेको डिजाइनअनुसार निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधी एवम् अपाङ्गमैत्री रहेको छ ।
भौतिक रूपमा विद्यालयको पूर्वाधार बलियो र सुरक्षित हुँदा यसको सकारात्मक प्रभाव विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकलगायत सबैलाई पर्ने आयोजनाले विश्वास लिएको छ ।
भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच करिब दुई वर्षअघि १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रभावित क्षेत्र भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन पनि निर्माण अन्तिम चरणमा छ ।
सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडामा ६६ योजना सम्पन्न भएका छन् । ९ वटा योजनाहरू हाल सञ्चालित छन् ।