तनहुँ
लौरीको सहाराले वगान चाहार्दा उनलाई ठ्याक्कै एक घण्टा लाग्यो । लटरम्म फलेका सुन्तलाको दानालाई सुमसुमाउँदै निहुँरिएर उकाली ओराली गर्न सुकनारायाण श्रेष्ठलाई धौं हुन्छ ।
बगान चाहार्न लौरीले सहारा दिएजस्तै सुन्तलाको दानाले दिने आम्दानी पनि सुकनारायणको बुढेसकालको सहारा बनिरहेको छ । रसिला सुन्तलाको दानाले उनलाई गुलियो आम्दानी चखाइरहेको छ ।
एक नजरले नभ्याइने वगानको सुन्तलाका हाँगामा, दानामा उनी पैसाका नोटहरु देख्नछन् । ‘यो सुन्तलाको हाँगै हाँगामा भनौं न पैसा देखिन्छ । यहीं सुन्तलालाई त हो पैसा हाल्ने !’, वगानको एक फन्को लगाएपछि थाकेको मुहारमा हाँसोको वहार ल्याउदै सुकाारायणले सुनाए ।
पोहोर साल उनले सुन्तला बिक्री गरेर ७० लाख रुपैयाँ आम्दानी गरे । यसपालि ३५ देखि ४० लाख रुपैयाँको हाराहारीमा बिक्री हुने उनको अनुमान छ । फूल खेल्ने बेला पानी नपरेर सुन्तला कम फलेको उनले बताए ।
सुकनारायणले लिइरहेको रसिला सुन्तलाको गुलियो आम्दानी जिन्दगीको नमिठो कथाबाट सुरु भएको हो । कथा सुन्न सुकनारायणको जिन्दगीको ३५ वर्षअगाडिको पाना फर्काउनुपर्छ ।
जतिबेला उनी सरकारी विद्यालयमा शिक्षणसँगै खेती किसान पनि गर्थे, निर्वाहमुखी नभइ व्यवसायिक तरिकाले । तरकारी, केरा हुँदै बोइलर कुखुरा पालनमा लागेका उनलाई २०४५ सालको नाकाबन्दीले बरबाद पार्दियो । पोल्ट्रीफार्मबाट उठ्नै नसक्ने गरेर निकै क्षति व्यहोर्नुपरेपछि उनले विकल्पको बाटोहरु खोज्न थाले ।
खोजेका विकल्पमध्ये उनले छानें सुन्तला खेती । सुन्तला खेतीको बारे अध्ययन गर्नलाई उनी बन्दीपुरको विमलनगर धाइरहन्थे । विमलनगरका किसानलाई वाक्कै लाग्ने गरेर सुन्तलाबारे उनले सयौं प्रश्नहरु तेर्साए । पाएको जवाफलाई निष्कर्षमा बदले, ‘सुन्तलाबाट भविष्य राम्रो हुन्छ ।’
उनले सुन्तला खेती बुढेसकालको साहरा बन्ने ठम्याएर डाँडामा जग्गा खोज्न थाले । जामुनेका सुकनारायणले हालको म्याग्दे गाउँपालिका–२ उमाचोकमा ३६ रोपनी जग्गा खरिदे । डाँडामा चार सय रुपैयाँ रोपनीमा खरिदेको जग्गा पास गर्दासम्म छ सय रुपैयाँ परेको उनलाई सम्झना छ ।
लस्करै देखिने उत्तरको हिमालतर्फ नजर जुधाएर थपक्क बसेको उमाचोकको डाँडामा सुकनारायणले २०४६ सालमा सुन्तलाका विरुवाहरु रोप्न थाले । ‘४६ र ४७ सालमा दुई वर्ष लगाएर सात सय बेर्ना लगाएको हो । पछि एक दुई रोपनी थप्दै अहिले हजार जति रुख छन्’, उनले भने ।
सुन्तला रोपेको दुई वर्षपछि उनी शिक्षण पेशाबाट रिटायर्ड भए । सुन्तलाका विरुवा हुर्कदै थिए । रिटायर्ड भएपछि सुकनारायण राजनीतिमा भिज्दै गए । राजनीतिक भविष्यको अंकुर पनि सुन्तलाको विरुवासँगै हुर्किरह्यो ।
२०५४ सालमा भएको निर्वाचनमा उनी जामुने गाविसको अध्यक्षमा नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेर निर्वाचित भए । जनप्रतिनिधि भएर जनताको सेवामा मग्न उनले डाँडामा रोपेका सुन्तलाको विरुवालाई चटक्कै बिर्सिए । सुन्तलाको विरुवालाई झाँडीले जित्यो । झाँडीको बीचमा सुन्तलाका विरुवा सप्रनै सकेनन् ।
६० सालपछि उनी निरन्तर सुन्तला खेतीमा फर्किए । ‘पहिला सय बोटमा मल दिएं । अर्को वर्ष दुई सय बोट गरेर तीन सय बोटलाइ मल दिए । मल दिएर हेरेपछि सुन्तला धेरै परिवर्तन भयो । यो खाद्य तत्व नै दिनपर्दो रैछ भन्ने सोंचेर ऋणधन के गरेर हुन्छ सबै सुन्तलालाई मल हाल्न थालें’, सुन्तलाको फेदमा बसेर गफिदैं भने ।
मलजलसँगै स्याहारसुसार पाएपछि सुन्तलाले फल दिन थाल्यो । सुन्तलाले फलसँगै आम्दानी चख्यायो । सुरुमा २२ हजार रुपैयाँ लिएका सुकनारायणको आम्दानीको ग्राफ उकालो चढिरह्यो । हजारबाट लाख १० लाख हुँदै ७० लाख रुपैयाँसम्म उनले सुन्तला बिक्रीबाट हात पारेका छन् । ‘सुन्तलाको आम्दानीले परिवार धान्न धेरै सहज भएको छ’, उनले भने ।
सुन्तला बिक्रीका लागि उनले ग्राहक खोज्नुपर्दैन । सुन्तला खरिद गर्न व्यापारी वगानमै आउँछन् । मोलमोलाइ गरेर टिपेर काठमाडौंसम्म पु¥याउँछन् ।
वर्षेनी एउटै व्यापारीले वगानको ठेक्का लिने उनले बताए । ती व्यापारीले सुन्तला नफुल्दै सुकनारायणलाई बैना रकम थमाउँछन् रे । उनले भने, ‘दश आठ लाख रुपैयाँ पैसा चाहियो भने उसँग मलाई खाँचो प¥यो भनेसी पहिल्यै पाइन्छ । चैत बैशाखदेखि नै दिन्छ ।’
सुन्तलाको गोडमेल, औषधी उपचारमा वार्षिक १८ लाखको हाराहारीमा खर्च हुने उनले बताए । सुकनारायणको सुन्तला खेतीले उनलाई मात्रै आम्दानी दिएको छैन । गाउँलेलाई पनि व्यवसायिक सुन्तला किसान बनाएको छ । उमाचोकको डाँड कतै खाली छैन । जता हे¥यो सुन्तलाको बगान देखिन्छ ।
‘पहिला धेरै समयसम्म गाउँलेले सुन्तला लगाएका थिएनन् । जब हामीहरुले २२÷२५ लाख, ५० लाख लिन थाल्यौं तब ए ५० लाख लियो भन्ने चर्चा चल्न थाल्यो’, उनी भन्छन्, ‘सबैले सुन्तला लगाएर हुने रैछ बुझे । अहिले जति पनि जमिन जग्गा छन् त्यहाँ बाँझो नराखी सुन्तला लगाएका छन् ।’
सुकनारायणले थपे, ‘जग्गा भन्ने हो भने मैले चार सय रुपैयाँ रोपनिमा लिएको हो । पास गर्दा छ सय प¥या हो । अहिले आएर चार लाख पाँच लाख रुपैयाँ भन्न थाल्याछ रोपनीको । यो सुन्तलाकै कारणले गर्दा डाँडाको जग्गाको मूल्य पनि वृद्धि हुँदै गाको हो । जग्गा किन्न खोजेर नि पाइदैन ।’
सुकनारायणको लोभलाग्दो सुन्तला खेतीमा दरिलो साथ दिएकी छन् उनकी जीवनसंगिन युक्तकुमारी श्रेष्ठले । भिरालो जमिन सम्माएर खनजोत गर्नेदेखि मलका डोको बोक्नेसम्मको दुख गरेर सुन्तलालाई सिञ्चित गरिन् । त्यतिबेला गाउँलेको घरमा फलेको लटरम्म सुन्तला देख्दा उनी सोच्थिन, ‘हाम्रो कहिले यस्तो होला ।’ वगान घुमेर हर्षविभोर उनी भन्छिन्, ‘हाम्रो कुन जुगमा होला त यस्तो भन्याथे । यही जुगमा भयो ।’