सुन्तला बेचेर तनहुँका किसानले कमाए साढे ४२ करोड

तनहुँ

तनहुँका किसानले सुन्तला बेचेर झन्डै ४२ करोड ५० लाख रुपैयाँ कमाएका छन् । यो वर्ष किसानले पोहोरको तुलनामा २ करोड ५० लाख रुपैयाँ बढी सुन्तला बिक्रीबाट आम्दानी गर्न सफल भएका हुन् ।

तनहुँका किसानले ५ हजार ८३१ मेट्रिक टन सुन्तला विक्री गरेको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी वाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए । परियारका अनुसार तनहुँका किसानले बजारमा औसत ७३ रुपैयाँ प्रतिकिलोको मूल्य पाएका हुन् ।

तनहुँमा १ हजार ४५७ हेक्टर क्षेत्रफल सुन्तला खेतीका लागि योग्य रहेको छ । ‘सबै क्षेत्रमा उत्पादन हुदैन । कही भर्खरै हुर्कदै गरेका विरुवा छन् । कतै पूराना रुख छन् । उत्पादन दिइरहेको क्षेत्रफल ९१८ हेक्टर रहेको छ’, उनले भने ।

यो वर्ष देवघाट गाउँपालिकामा धेरै उत्पादन भएको छ । देवघाटको छिपछिपे, दगारा, लुङग्रिङ सुन्तला खेतीको पकेट क्षेत्र मानिन्छ । देवघाटपछि शुक्लागण्डकी नगरपालिकाको नाम्सीकोट, पाल्पालीछाप, अलैंचे क्षेत्रमा किसानले सुन्ताल खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन् । म्याग्दे गाउँपालिकाको उमाचोक क्षेत्र पनि सुन्तला खेतीका लागि प्रख्यात मानिन्छ ।

आँबुखैरेनी गाउँपालिका–५, व्यास नगरपालिका–७, १३ र १४, भिमाद नगरपालिका–८ र ९, बन्दीपुर गाउँपालिका–३, ऋषिङ गाउँपालिका–३ र घिरिङ गाउँपालिकामा सुन्तला खेती विस्तारको सम्भावना छ । सुन्तला खरिदका लागि व्यापारी किसानको बगैँचासम्म पुग्ने भएकाले बजारको समस्या छैन ।

यहाँ उत्पादित सुन्तला काठमाडौं, पोखरा, नारायणगढलगायतका बजारमा पुग्छ । जिल्लाको दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद, डुम्रे, आँबुखैरेनी, भीमाद लगायतका बजारमा पनि स्थानीय सुन्तला खपत हुन्छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा तनहुँका किसानले झन्डै ४० करोड रुपैयाँ सुन्तला बिक्रीबाट हात पारेका थिए । आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाका किसानले सुन्तला बिक्री गरेर २९ करोड आम्दानी लिएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.