तनहुँ खबर

हल गोरु पाल्ने कृषकलाई १० लाख अनुदान वितरण

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा.विनय शाहले जानकारी दिए । गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप रु १० लाख वितरण गरेको छ ।

गाउँपालिकाले हल गोरु पोषण अनुदानवापत सबै वडाका दुई सय ५० कृषकलाई जनही रु चार हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो । प्रोत्साहन रकम पाएपछि लम्पी रोगबाट प्रभावित भएका पशुहरुको संरक्षणमा सहयोग पुग्ने भन्दै कृषक खुसी भएका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको बताए । उनले भने, “प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषक अझै बढ्ने विश्वास लिएका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।”

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिए । गाउँपालिकाले दुई हजार एक सय ९८ पशुलाई लम्पी स्कीन विरुद्धको खोप लगाइसकेको छ । पशुसेवा शाखा प्रमुख डा शाहका अनुसार गाई, गोरु, भैँसी, राँगालाई उक्त खोप लगाइएको हो । त्यस्तै पाँच सय १७ पशु वस्तुको उपचार गरिएको छ ।

गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान रकम उपलब्ध गराएको छ । गाउँपालिकाको पशुसेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले कृषकलाई रु १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ । गाउँपालिकाले प्रति लिटर नौ रुपैँया २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीति बमोजिम तीन वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरेको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!