दुलेगौंडा । विभिन्न रोग तथा दुर्घटनाबाट पिडीत भएकाहरुको उपचारमा सहयोग गर्न नेपाल मगर संघ शुक्लागण्डकीले आर्थिक सहयोग गरेको छ । नगरपालिकाको नर्सरी र हलेदीमा रहेको तीन फरक विरामीलाई भेटेर संघले नगद १५÷१५ हजार सहयोग उपलब्ध गराएको हो । मगर समुदायका हलेदी निवासी स्तन क्यान्सर पीडित ५७ बर्षिया पार्वती थापा, मेरुदण्ड भाच्चिएका नरबहादुर थापा र नर्सरी निवासी ४९ बर्षका दुवै मृगौला पीडित शिवबहादुर रानालाई संघले मंगलबार सहयोग गरेको थियो ।
आर्थिक अवस्था कमजोर हुदाँ उपचारमा समस्या झेलीरहेको उनीहरुले मगर समुदायले समुदायमा आधारित फिल्म प्रदर्शन गरेर संकलन भएको रकमले सहयोग गरहेको संघका अध्यक्ष अम्मरराज थापा मगरले जानकारी दिए ।
क्यान्सर पीडित रानाले जी.पी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार गराईरहेकी छिन् । हिड्डुल गर्न समेत नसक्ने नरबहादुर दिनरात विस्तारामै लम्पसार छन् । लडेर मेरुदण्ड भाँच्चिएका उनी केही गर्न सक्दैनन् । त्यस्तै, मृगौला पीडित शिवबहादुरले जिएमसी हस्पिटल पोखरामा हप्तैपिच्छे नियमित डायलोसिस गराउँदै आएका छन् । हरेक पटक १० देखि १५ हजारसम्म खर्च हुने गरेको शिव बताउँछन् । गत मंसिरमा मृगौला फेल भएका शिवले हालसम्म उपचारमा ९ लाख खर्च भइसकेको बताए । उनका अनुसार निःशुल्क डायलोसिसका लागि निवेदन दिएपनि आफुले पालो नपाएको र नीजि हस्पिटल पैसा तिरेर डायलोसिस गर्न बाध्य भएको गुनासो गरे । तीनै जना विरामीको घर परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि अपिल गरेका छन् ।
विरामीलाई सहयोग रकम हस्तान्तरण गर्दै मगर संघ शुक्लागण्डकीका अध्यक्ष थापाले मगरहरुको एकताले नै सुख–दुःखमा धेरथोर सहयोग गर्ने वातावरण बनेको भन्दै मगरहरुको एकतामा जोड दिए । संघका गण्डकी प्रदेश सदस्य मनबहादुर पुनले स्वास्थ्य बीमा नगरेकालाई अनिवार्य गर्न र गरेकालाई नविकरण गर्न सुझाव दिए । स्वास्थ्य बीमाबाट आर्थिक भार कम पर्ने भएकाले सरकाले दिने सेवा सुविधाको उपयोग गर्न सवैलाई आग्रह गरे ।
मगर संघ तनहुँका जिल्ला सहसचिव सुमन आलेले रोगबाट जोगिन आहार, बिहार र विचार संघै उचित तथा सकारात्मक हुनुपर्ने बताए । उनले विरामीहरुलाई आत्मबल बढाउन आग्रह गरे । स्वास्थ्यकर्मी समेत रहेका मगर संघ शुक्लागण्डकीका सचिव सफल आलेले सरकारले नागरिक स्वास्थ्य सचेतना कार्यक्रमलाई जोड दिनुपर्ने बताए । उनले मगर संघले पनि आफ्नो समुदायका लागि स्वास्थ्य सचेतना कार्यक्रम गर्नेे योजना बनाएको बताए ।
सो अवसरमा मृगौला पीडित शिवबहादुर रानालाई मगर संघका बरिष्ठ उपाध्यक्ष विष्णुबहादुर रानाले स्वास्थ्य बीमाका लागि भन्दै ३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका थिए । मगर संघले यसअघि पनि आफ्नो समुदायमा पर्ने विभिन्न रोगबाट पीडितहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।