जसले बर्षौं बाँझिएको बारी फोरेर हराभरा बनाए

तनहुँ
मान्छे बुडाउने तितेपाती, वनमारा, ऐंसेलुका झ्याङ । बर्षौदेखिको बज्जर । आँखै अगाडि थपक्क बसेको पोखरामा कमिलाका ताँती जस्तै घर थपिन थालेपछि पाटालाई जंगलले मिच्यो । थुप्रै बुट्यानले जरो गाडेर फैलनुसम्म फैलिए ।

५/७ वर्ष बाँझिएको ३० रोपनी जग्गा हिजोआज चौपट्टै फेरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अर्चलेका सात जना जाँगरिला महिला मिलेर मान्छे बुडाउने झ्याङ हप्ता दिन लगाएर फाँडे । फाँडेको झ्याङलाई सर्लक्कै सुताए । सुकेपछि दनदनी आगो दन्काए । त्यसपछि बडो मेहनतले बाँझो फुटालेर पहिलाको जस्तै खेतीयोग्य स्वरुपमा फर्काए ।

खेतीयोग्य बारी किन बाँझियो ? देशभरको कथा उस्तै न हो शहर झर्ने र जहाज चढ्नेको लर्को । ६० वर्षीया रेनुमाया गुरुङ भन्छिन्, ‘बारीका धनीहरु सबै झरे फाँटमा । धनीले गाउँ छाडेर गइहाल्यो । लाखुँले मकै खान पनि दिएन । अनि खेती गर्नै छोड्यो ।’

चार वर्षअघि बारीको बाँझो फोर्नलाई हातमा ठेला उठुन्जेल पसिना बगाउने आँट गर्नेहरुमा उनी पनि एक हुन् । ‘बाँझो फोर्न त बेस्सरी दुख भयो’, उनले दुख सुनाइन् ।

अहिले देख्दा ती गराहरु बाँझा थिए र ? झैं लाग्ने भएका छन् । पाखैभरी रहर लाग्ने गरेर पिँडालु र मास झ्याङगिएका छन् । देशैभर गाउँका खेतीयोग्य जमिन बाँझिदा पोखरा मास्तिरको अर्चलेमा हराभरा बनाउन भूमिका गुरुङ (४०) को भूमिका छ ।

काम गर्न पाए एक छाक खान्कीले पनि भोक मेटिने भूमिकाले घरको बारीमा पिँडालु फलाएर वर्षेनी ३० हजारसम्मको आम्दानी लिन्थिन् । राम्ररी नपाक्दा कोक्याउँने पिँडालुको डल्लाले आम्दानीको स्वाद त गुलियो नै चखायो । गुलियो आम्दानीले उनको धित मरेन ।

उनलाई लाग्यो ‘गाउँका सबै भाउजुबुहारीलाई पनि यो काममा सामेल गराउनुपर्छ । म मात्रै किन आर्यआर्जन गर्ने ? अरुले पनि गनुपर्छ ।’ गाउँमा काम गर्नेहरु विस्तारै घट्दैछन् । बाँझो फोरेर खेतीकर्म गरौं भन्दा नमान्ने पो हुन की ? उनलाई दोधारे बनायो ।

एक पटक त प्रस्ताव राख्नु नै थियो । भूमिकाले गाउँका भाउजुबुहारीलाई एक्लाएक्लै भेट्दै पिँडालुको आम्दानीबारे सुनाइन् । समूहमा मिलेर काम गर्ने प्रस्तावमा पनि सबैले इच्छा देखाए । त्यसपछि उनले एक दिन साँझ इच्छा देखाएका सबैलाई सँगै घरमा डाकेर समूह बनाइन । नाम राखियो जलदेवी नमुना कृषक समूह ।

सात जना मिलेर सामूहिक खेती गर्न सहमत भएका उनीहरुले गाउँको मून्तिर बर्षाैंदेखि बाँझिएको बारी उपयुक्त देखे । ‘धनीसँग बारी मागें । हजुरहरुको बारी फाड्छु भनें । उनीहरुले हुन्छ भने’ भूमिकाले सुनाइन् ।

सुरुमा त घरैको बारीको काम सक्ने भूमिकाले बताइन् । ‘घरको काम भ्याएपछि मात्रै यहाँको काम गर्छौं हामी । पहिला यहाँ आयो भने सायद घरको मान्छेहरु रिसाउँछ की भनेर घरको काम भ्याँउछ अनि यहाँ आउँछ’, गुरुङसेनी लवजमा उनी बोल्छिन् ।

३० रोपनी क्षेत्रफलमा सुरुको वर्षदेखि पिँडालु र मास लगाएका छन् । घरको बारीमा पनि उनीहरुले पिँडालु, कोदो, मास रोपेका छन् । घरको काम सिध्याएर मात्रै सामूहिक खेतीको काममा हाजिर हुन्छन् । टन्टलापूर चर्को काममा छाताको ओत लागेर गोडमेल गर्छन । साँझ फेरी थाकेको ज्यानले वस्तुभाउलाई घाँसको भारी बोकेर उक्लन्छन् ।

सुरुमा त घरैको बारीको काम सक्ने भूमिकाले बताइन् । ‘घरको काम भ्याएपछि मात्रै यहाँको काम गर्छौं हामी । पहिला यहाँ आयो भने सायद घरको मान्छेहरु रिसाउँछ की भनेर घरको काम भ्याँउछ अनि यहाँ आउँछ’, गुरुङसेनी लवजमा उनी बोल्छिन् ।

पाखैभरी मास र पिँडालुले डम्मै छन् । बेलबखत भूमिकाले फेसबुकमा काम गरेको फोटो भिडियो पोस्ट्याँछिन् । पोखरा झरेका बारी धनी हराभरा देखेर खुशी हुन्छन् ।

सामूहिक खेती सुरु गरुन्जेलसम्म पनि नगरपालिका, वडा र कृषि ज्ञान केन्द्र लगायतबाट सहयोग पाइन्छ भन्ने उनीहरुलाई मेसै थिएन । उसो त उनीहरुले अनुदानको लोभमा खेती गरेका पनि होइनन् । उनीहरुको मेहनतकै कारण अहिले अनुदानमा हाते ट्याक्टर, कुटानी पिसानी मेसिन, सिंचाइका लागि पानी ट्यांकी पाएका छन् ।

विषादी नराखिकन उत्पादन गरेको पिँडालु र मास सुरुमा आफूलाई घरमा उपयोग गर्न समूहका सदस्यलाई बराबरी बाँड्छन । त्यसपछि बाँकी रहेको सबै उत्पादन बिक्री गर्ने भूमिकाले बताइन् । बिक्रीका लागि बजारको समस्या नरहेको उनको भनाइ छ ।

पहिलो वर्ष बजारबारे अनविज्ञ हुँदा मास बिक्री गर्न धौं भएको थियो । उत्पादन भएको मास गाउँमा थन्किएको भूमिका बताउँछिन् । त्यसपछिको वर्षमा त खोसाखोस नै हुन्छ । ‘पोहोर त हामीले पु¥याइसक्नु भएन । ग्राहकलाई जति माग थियो त्यति पु¥याउन सकिएन । अर्गानिक मास भनेर खोसाखोस हुन्छ । आफैंले नम्बर पत्ता लगाएर मास किन्नलाई फोन त कति आउँछ कति । बजार नपाउने पीरै छैन’, उनले भनिन् ।

पिँडालुको पनि सुरुमा मन्डी नचिन्दा बेच्नै मुस्किल थियो । बजार पु¥याएर के भनेर बिक्री गर्ने आफैंसँग प्रश्न गरेकी थिइन् । जसोतसो पोखरा लगेर बेचिन । अहिले त पोखराका मन्डीले भूमिकाले ल्याएको भनेपछि सजिलै किन्छन् । उसैगरी उनलाई चिन्छन् ।

अहिले उनी आफन्तको जाँदा समेत केही न केही उत्पादन कोशेलीमा आश गरेको हुन्छन् रे । झरी, बादल, चर्को घाम नभनिकन घरको काम सकाएर सामूहिक खेती गरेकी भूमिका औंधि खुशी छन् ।

‘काम गरेर एकदमै खुशी छु । मेरा दुईटा भाइ विदेश छन् । उनीहरुलाई नि मेरो काममा सामेल गर्न पाए अझै खुशी हुन्थे’, समूहको अध्यक्षसमेत रहेकी भूमिका थप्छिन्, ‘झगडा गरेनप् आफुसँगै झगडा हुन्थ्यो । टाढा कता हो कता ? अर्काको देशमा काम गर्दा खाछ कि खाछैन भन्ने पीर हुन्छ ।’

घरको काम सकाउने वित्तिकै सामूहिक खेती गरेको ठाउँमा ओर्लनुपर्दा लक्ष्मी गुरुङसँग थकान र दुखेसो एकरत्ति छैन । ‘घरमा पनि कोदो रोप्ने मकै रोप्ने काम गर्छ । त्यताको सकेर तल झर्ने हो । दिनभर काम ग¥यो बेलुका एक भारी घाँस लाने’, दैनिकबारे उनी बताउँछिन् ।

समूहमा गरेको कामले आम्दानी समेत दिएपछि उनलाई सन्तृष्टि मिलेको छ । ‘काम गरे अनुसार दिनको घण्टाको त कहाँ हिसाब हुन्छ र । तर, मनमा चाहिँ सन्तोक हुन्छ’, सन्तृष्टिको पोकोपुन्तुरो वार्तामा खोतल्छिन् ।

आफ्ना लागि आफ्नो कमाइ खर्चन पाएपछि उनको स्वाभिमान अग्लिएको छ । ‘आफूले कमाएको पैसा जेमा लगानी गरेपनि पाइयो । श्रीमानको पैसा दिनुन दिनु भनेर माग्नुप¥यो’, उनले भनिन्, ‘लौ मैले कमाइ गरेको पैसा भनेर श्रीमानलाई दिन पनि पाइयो । खुशी छु ।’

गाउँघरका सबै विदेशिएर अर्मपर्म गर्ने मान्छे पाउन छाडेपछि भने उनलाई न्यास्रो लागेको छ । बाँझिएका गाउँका पाखापखेरा फाँडेर रमाउँदै कमाउन उनको सुझाव छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.