तनहुँ
जेन–जी प्रदर्शनकारीको तोडफोड र आगजनीले क्षतिग्रस्त जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता वितरण थाल्ने भएको छ । कार्यालय जलेपछि रोकिएको नागरिकताको प्रमाणपत्र वितरण बिहिबारदेखि थाल्ने भएको हो ।
नागरिकतासँगै नागरिकताको प्रतिलिपि सेवा सुचारु हुने प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए । सोमबारदेखि नै आदिवासी, जनजाती, दलित, खस आर्य, मुस्लिम प्रमाणित तथा दुई नामथर प्रमाणित सम्बन्धी सेवा कार्यालयले दिइरहेको छ ।
‘कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा संचालन गर्न कार्यालयका तर्फबाट अधिकतम प्रयास भईरहेको छ’, उनले भने ।
राहदानी वितरण भने राहदानी विभागबाट कम्प्युटर लगायतका विद्युतीय राहदानीका लागि आवश्यक उपकरण कार्यालयमा प्राप्त भए पश्चात सुचारु गर्ने तयारी छ । राष्ट्रिय परिचयपत्र पनि पञ्जीकरण विभागबाट विवरण दर्ताका लागि आवश्यक पर्ने सामाग्री आएपछि मात्रै सुरुआत गर्ने तयारी छ ।
आगजनी भएको कार्यालयबाट पूर्ण सेवा दिन नसक्ने अवस्था भएपछि अहिले प्रशासन कार्यालय वैकल्पिक स्थानको खोजी गरिरहेको छ ।
जिल्लामा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने जिल्ला प्रशासन कार्यालय जेन–नी समूहको प्रदर्शनपछि क्षतिग्रस्त हुदाँ सुनसान छ ।
प्रशासन परिसरमा जलेका सवारी, कुर्सी, टेबल, कम्प्युटर, प्रिन्टर, झ्याल, ढोका यत्रतत्र छरिएका छन् । जलेर नष्ट भएका कागजका टुक्रा असरल्ल देखिन्छ । कलेजी रङको भवनमा आगोको मुस्लो झोसिएपछि ध्वाँसे भएको छ । झ्याल ढोका नभएपछि ह्वांगै देखिन्छ । भवन पुननिर्माणका लागि प्राविधिक मुल्यांकनको काम भइरहेको छ ।