दुलेगौडा । विहीबार हरिशयनी एकादशीका अवसरमा शुक्लागण्डकी नगरपालिकाको विभिन्न धार्मिक क्षेत्रमा बृक्षरोपण गरिएको छ । विशेष गरि घर घरमा तुलसीको विरुवा रोप्ने दिनको रुपमा पनि हरिशयनी एकादशीलाई चिनिन्छ । विहीबार विभिन्न संस्थाको अगुवाईमा जिल्लाका विभिन्न स्थानमा बृक्षरोपण भएका हुन् ।
शुक्लागण्डकी नगरपालिका वडा न ९ स्थित रहेको गौ संरक्षण केन्द्रको परिसरमा बृक्षरोपण गरिएको छ । सुशासन र समृद्ध शुक्लागण्डकीका लागि युवा अभियानका सक्रियतामा बुधबार केन्द्र परिसरमा पिपल र तुलसीका विरुवा रोपिएको हो ।
शुक्लागण्डकी नगरपालिका ५ मा रहेको शुक्ला नागढुंगा शवदाह स्थल र शुक्ला पार्क परिसरमा स्थानीयले बृक्षरोपण गरे । कार्यसमित सहितका स्थानीयले धार्मिक तथा पर्यावरणीय रुपमा महत्वपूर्ण मानिएको विरुवाहरु रोपिएको हरिराज अधिकारीले जानकारी दिनुभयो । उहाँले शव दाह स्थल र पार्क परिसरमा रूद्राक्ष, बेल,वर, पिपल, गुल्मोहर, निम, कल्कि लगायतका बृक्ष रोपण गरिएको बताउनुभयो ।
यता शुक्लागण्डकी नगरपालिका ७ मा पनि उप प्रमुख खुमबहादुर विक र वडाध्यक्ष खड्क सिं थापाको उपस्थितीमा बृक्षरोपण भएको छ । उनीहरुले वातावरण जोगाउन बृक्षरोपण गरेका जनाएका छन् ।