दुलेगौँडा । बैदेशिक रोजगारीको साथ साथै बजार बसाईको मोह नेपालीहरुमा ब्यप्त छ । प्रत्येक घरका युवा अहिले नेपाल बाहेकका राष्ट्रमा रोजगारीको लागि पुगेका छन् । फलस्वरुप ग्रामिण बस्तीहरु दिनानुदिन उजाड बन्दै जान थालेको छ भने पहाडी भूमि पनि बाँझिदै गएका छन् ।
यो अवस्थामा तनहुँको शुक्लागण्डकी नगरपालिका १२ का युवाहरु भने व्यवसायिक बाख्रा पालन गरेर गाउँको विकासमा तल्लिन बन्न थालेका छन् । बैदेशिक रोजगारी बाट फर्किएका अधिकाँश यहाँका युवाहरुले घर घरमा व्यवसायिक बाख्रा पालन गरेर गाउँको आम्दानी बढाएका छन् भने आत्मनिर्भरताको मार्गमा अग्रसर बनेको पाईन्छ ।
व्यवसाय गर्नकै लागि भिमाद बजार झरेको केही बर्षमा रित्तिदै भएको गाउँ सम्झेर बाख्रा पालन गर्न गाउँ फर्किएका सुकबहादुर गुरुङको पहलमा अहिले गाउँका १५ परिवारले बाख्रा पालनलाई मुख्य व्यवसाय बनाएका छन् । विभिन्न खाडी मुलुकबाट फर्किएका २५ युवाले एकै पटक गाउँमा बाख्रा पालन गर्ने सोच बनाएपछि विकासले पछि परेको रातमाटामा, खानेपानी, विद्युत र सडकको सहज पहुँच पुगेको थियो ।
बाख्रा पालन सुरु भएको पाँच बर्ष पछि भने युवाहरुमा आम्दानी बढाउनु बाहेक अनावश्यक सोच नरहेको अभियन्ता गुरुङ बताउँछन् ।
व्यवसायमा नाफा नोक्सान हुने प्रक्रिया दिदै केही साथीहरु भने विदेश नै फर्किएको उनले जानकारी दिए । पछिल्ला बर्षहरुमा सरकारले आफुहरुजस्ता कृषकलाई महत्व नदिएको उनको गुनासो छ ।
गाउँकै नरबहादुर विकले बाख्रा पालनले मनग्य आम्दानी नभएको अनुभव संगालेका छन् । पारिवारिक गर्जाे टरेपनि अपेक्षा अनुसारको प्रतिफल लिन नसकेको उनले बताए ।
उनी जस्तै परिवारमै बसेको उद्यमी बन्ने सोच लिएका दिपक थापा पनि व्यवसायले गति लिन नसेको बताउँछन् । अनुगमन गर्नुपर्ने निकायको वेवास्ता र चरन क्षेत्र अभावका कारण समस्या भएको उनको अनुभव छ ।
गाउँमा बाख्रा पालन गर्न कस्सिएका युवाहरुलाई राज्य स्तरबाट हौसला बढ्ने कार्यक्रमहरु ल्याउन सके अन्य युवाहरुलाई कृषि र पशुपालन क्षेत्रमा आकर्षण गर्न सकिने तत्कालिन वडाध्यक्ष मनराज गुरुङ बनाछन् ।
भिडियो पनि हेर्नुहोस :