शुक्लागण्डकीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

तनहुँ

शुक्लागण्डकी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । यहाँका १२ वटै वडालाई घोषणा गरेपछि आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

१६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितले प्रतिबद्धतामा हस्ताक्षर गरेर घोषणा गरे ।

मेयर पण्डितले पूर्वाधार विकासमात्रै नभएर मानव पुँजी निर्माणलाई पनि ध्यान दिन आवश्यक रहेको बताए । त्यसैको आधारमा बजेट विनियोजन गरिएको उनको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाको योगदान प्रशंसनीय रहेको बताए ।

उपमेयर खुमबहादुर विक ‘राजु’ ले दिगोपनालाई निरन्तरता दिनुपर्ने बताए । स्वास्थ्य क्षेत्रको वास्तविक तथ्याङक नरहेको उनको भनाइ थियो । ‘तथ्याङकमा इरर भएपछि काम गर्न सकिदैन’, उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले दिगो विकासका लागि पनि खोपको सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले शुक्लागण्डकीमा ज्याला मजदुरीका लागि बाहिरबाट आउनेको संख्या धेरै भएकाले जोखिमयुक्त क्षेत्रमा पर्ने बताए ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ मृत्युदर घटाउन सकिने स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापा (डिबी) ले बताए ।

चैत महिनालाई घरधूरी सर्वेक्षण अभियान बनाएर बैशाखामा खोप अभियान चलाइएको नगर स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक लक्ष्मि सिग्देलले बताइन् । उनका अनुसार शुक्लागण्डकीका ५६१ जनलाई खोप दिइएको छ । अझै ८ जना छुटेका उनले बताइन् । छुटेकालाई पनि हाल खोप दिइसकेको छ ।

कार्यक्रममा शुक्लागण्डकी–१२ का वडाध्यक्ष इन्द्र गुरुङ, महिला स्वास्थ्य स्वयमसेविका लक्ष्मि सिग्देल लगायतले बोलेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.