दुलेगौंडा– चौंथो शुक्लागण्डकी महोत्सवमा उत्कृष्ट झाँकी ल्याउने समूहलाई पुरस्कृत गरिने भएको छ । महोत्सव उद्घाटनपूर्व निकालिने झाँकीमा सहभागी पाँच समूहलाई पुरस्कृत गरिने भएको हो ।
सर्वोत्कृष्ट झाँकी प्रदर्शन गर्ने समूहलाई २० हजार रुपैयाँ प्रदान गरिने झाँकी व्यवस्थापन संयोजक सरस्वती पोखरेलले जानकारी दिइन् । उनका अनुसार दोस्रोले १५ हजार, तेस्रोले १० हजार र चौथो दुई समूहले ५/५ हजार रुपैयाँ पाउनेछन् ।
पोखरेलका अनुसार उपस्थित सबै समूहलाई टिकट उपलब्ध गराइनेछ । १० देखि २० जनाको समूहमा आउनेलाई ५५ वटा टिकट दिइनेछ । २० देखि ३० जनासम्म आउनेलाई ७७ वटा, ३० देखि ५० जनामा आउनेलाई ११० टिकट दिइनेछ ।
सबै समूहको मुल्यांकन गरेर उत्कृष्ट छनोट गर्ने उनले बताइन् । ‘समूहको भेषभूषामा एकरुपता, मौलिक बाजागाजा, समूहको संख्या लगायत मापदण्ड हुनेछ’, उनले भनिन् ।
१५० बढी समूह झाँकीसहित महोत्सवको उद्घाटन समारोहमा सहभागी हुने उनको भनाइ थियो । त्यसका लागि गाउँ गाउँमा जातजाती, धर्म संस्कृति अनुसारका संस्थालाई पत्राचार गरिएको छ ।
शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा फागुन ९ देखि २० गतेसम्म महोत्सव हुदैछ । महोत्सवको तयारीलाई तीव्रता दिइएको छ ।
महोत्सवको मुख्य आकर्षणका रुपमा साँस्कृतिक झाँकी प्रदर्शनी, पर्यटन प्रबद्र्धन, नृत्य प्रतियोगिता, सांगीतिक कार्यक्रम, भलिबल प्रतियोगिता रहेका छन् । दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, खानाका परिकार, ऐतिहासिक स्थलको पदयात्रा, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, पुष्प प्रदर्शनी तथा विक्री, सुन्तला, मास, अदुवाको प्रदर्शनी तथा खरिद विक्री हुनेछ ।