दुलेगौंडा
चौंथो शुक्लागण्डकी महोत्सवमा आज पनि ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने भएको छ । तेस्रो दिन आज दिउँसो लोकदोहोरी कलाकारले दर्शक झुमाउनेछन् । साँझ लाइभ कन्सर्ट हुनेछ ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा जारी महोत्सवमा आज लोकदोहोरी गायक श्याम राना, रामजी पौडेल, शिवहरी ढुंगानाको प्रस्तुती रहने कलाकार संयोजक सुमन सापकोटाले जानकारी दिए । उनका अनुसार लोकदोहोरी गायिका सुमन थापा मगर र सुष्मा ठकुरीले पनि दर्शकलाई नचाउनेछन् ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा फागुन ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संघसंस्था लगायत १७५ स्टल समावेश गरिएको छ ।
राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा बिक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान बिक्री तथा प्रदर्शनीलाई समावेश गरिएकोे छ ।
महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । ५ करोड रुपैयाको आर्थिक कारोवार हुने आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले जनाएको हो ।