दुलेगौंडा
चौथो शुक्लागण्डकी महोत्सवमा गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगितामा शुक्लागण्डकी नगरपालिकाको टोलीले विजयी सुरुआत गरेको छ ।
व्यास र शुक्लागण्डकीबीच भएको पहिलो खेलमा शुक्लागण्डकी विजयी सुरुआत गरेको हो । शुक्लागण्डकीले ३–० को सोझो सेटमा व्यासलाई पराजित गरेको खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए ।
दोस्रो खेल कास्कीको माछापुच्छ्रे र तनहुँको घिरिङ गाउँपालिकाबीच भएको थियो । घिरिङले माछापुच्छ्रेलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।
प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ हात पार्नेछ । उपविजेताले १ लाख रुपैयाँ, तेस्रोले ५० हजार र चौंथोले २५ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा १३ समूहको सहभागिता रहेको छ ।
सर्वोत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, डिफेन्डर, ब्लकर, सर्भर र कोचलाई पनि पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको सुरुआतको अवसरमा शुक्लागण्डकीका दुई अग्रज खेलाडीलाई सम्मान गरिएको छ । श्यामकाजी रिजाल र रमेश केसीलाई सम्मान गरिएको हो । भीम तिमिल्सीना, राजन भुजेल र शिवशंकर महतलाई पनि सम्मान गर्ने आयोजकले जनाएको छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म चल्नेछ । बेलचौताराको भानुभक्त बहुमुखी क्याम्पस परिसरमा महोत्सव सञ्चालन भइरहेको छ ।