दुलेगौंडा
बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज पनि चर्चित लोकदोहोरी कलाकारले सांगीतिक प्रस्तुतिले दर्शक झुमाउने भएका छन् । फागुन ९ गते देखि जारी महोत्सवमा आज चर्चित लोक दोहोरी गायक अर्जुन सापकोटासँगै कुशल बेलवासे, लोक पप गायक सञ्जीवसिं राना, लोकदोहोरी गायिकाहरु कमला गैह्रे र सुनिता नेपाली लगायतको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक सुमन सापकोटाले जानकारी दिए ।
आज शनिवार भएकाले दर्शकको उपस्थिति उल्लेख्य रहने आयोजकको अनुमान छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको ओजनामा फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा केहिदिन रोकिएको पालिकास्तरीय भलिबल प्रतियोगिता आइतवारबाट शुरु हुने छ । साथै रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता जारी रहेको मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।