दुलेगौंडा– शुक्लागण्डकी नगरपालिकामा माघ २७ देखि ३० गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यालय जाने र १० देखि १४ वर्षसम्मका विद्यालय नजाने बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने खैरेनीटार स्वास्थ्य चौकी प्रमुख दुर्गा अधिकारीले जानकारी दिइन् ।
खोप सञ्चालनका लागि प्रत्येक केन्द्रमा एक जना स्वास्थ्य स्वयंसेविक, एक जना शिक्षिका र एक जना स्वास्थ्यकर्मी खटिनेछन् ।
शुक्लागण्डकीका १२ वडामा ३२ केन्द्र तोकिएको स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाले बताए । ती केन्द्रमा दुई हजार ७०६ बालिकालाई खोप दिइनेछ । विद्यालयमा अध्ययनरत दुई हजार ५९१ र विद्यालय नजाने ११५ जनालाई खोप लगाइने उनले जानकारी दिए ।
पछिल्लो समयमा महिलामा पाठेघरको क्यान्सरको समस्याले विकारल रुप लिइरहेकाले खोप लगाउन शाखा प्रमुख थापाको आग्रह छ । अभियानलाई सफल पार्न सबैले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । ‘अहिले खोप नलगाए पछि समस्या हुन सक्छ । सबैको सहयोगले नै यो अभियान सफल हुनेछ’, उनको विश्वास छ ।
सरकारले यहि माघ २२ गतेदेखि फागुन १६ गतेसम्म देशैभर पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरस विरुद्धका खोप अभियान सञ्चालन गर्दैछ । विभिन्न अध्ययनका अनुसार एचपिभी खोपको प्रभावकारीता शतप्रतिशतसम्म रहेको छ ।
एचपिभी खोप एक मात्रा लगाए पुग्छ । सरकारले आगमी वर्ष देखि कक्षा ६ का छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित खोप मार्फत मार्फत दिने निर्णय गरेको छ ।