शुक्लागण्डकी–६ का टोल विकासका पदाधिकारीलाई नेतृत्व विकास तालिम

दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ ले वडाबासीलाई नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरेको छ । वडाका टोल विकास संस्थाका पदाधिकारी,राजनीतिक दलका प्रतिनिधि र विभिन्न संघ संस्थाका पदाधिकारीलाई तीन दिने तालिम दिएको हो ।

दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे सिरुवारीमा आवसीय तालिम दिएको हो । तालिमको उद्घाटन गर्दैै पूर्ववडाध्यक्ष कृष्णबहादुर पौडेलले नेतृत्वमा सिरुवारीबाट सिक्नुपर्ने बताए । ‘यसको सिको गरेर हामीले पनि हाम्रो ठाउँमा केही गर्न सकिन्छ’, उनले भने ।

वडाको तीनखोलेदेवी मन्दिर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा दर्ज भएकाले माथिल्लो गाउँ पोखरीथोक, व्यागन, वयामलाई होमस्टेको रुपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

वडाध्यक्ष बुद्धिबहादुर थापाले वडालाई समृद्ध वडा सुखी वडाबासी बनाउने लक्ष्यका साथ काम गरिरहेको बताए । विकास निर्माणमा खटिरहेको टोल विकास संस्थाको क्षमता अझै विकास गर्न तालिम आयोजना गरेको बताए । ‘हाम्रो लक्ष्य कसरी हुन्छ वडालाई समृद्ध बनाउने भन्नेछ । सबैको साथ र सहकार्यको आवश्यक छ’, उनले भने । पार्टी र जाती नभनीकन जनताको सेवामा खटिरहेको उनले सुनाए ।

तालिम संयोजक वडा सदस्य भक्तबहादुर रानाले समय अनुुसार चल्न सक्नुपर्ने बताए । समय व्यवस्थापनमा ख्याल गर्नुपर्ने उनको भनाइ छ । नेतृत्व विकास अपरिहार्य भएको वडा सदस्य रानाले सुनाए ।

वडा सचिव इन्दिरा शर्माले सञ्चालन गरेको तालिम उद्घाटन समारोहमा नेकपा एमाले वडा कमिटी अध्यक्ष रुपा राना मगर, नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष कुलबहादुर गुरुङ, नेपाली कांग्रेस वडा समितिका सदस्य महेन्द्र हमाल, राष्ट्रिय स्वतन्त्र पार्टी वडा समितिका सदस्य गणेश बस्नेत, राष्ट्रिय जनमुक्ति पार्टीका वडा समिति सदस्य पदम राना लगायतले बोलेका थिए ।

तालिममा सहभागीलाई शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्याय र तनहुँ खबर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक विनोद ढुंगानाले टोल विकास संस्थाका पदाधिकारीको भूमिका, बैठक व्यवस्थापन, माइनुट लेखन, भाषणकला, उद्घोषणकला लगायतका विषयमा सहजीकरण गरेका थिए । तालिममा २९ टोलका अध्यक्ष, सचिव, पदाधिकारी, राजनीतिक दलका पदाधिकारी र प्रतिनिधि गरेर ८० जना बढीको सहभागिता रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.