सेती किनारमा फोहोर, त्यसैमाथि आगो !

दुलेगौंडा

बुधबार विहानै धुवाँको मूस्लोले बेलचौतारा आसपासको बस्तीलाई छपक्कै छोप्यो । एकाविहानै धुवाँले धेरैको आँखा पोल्यो । धुवाँको मुस्लो फैलदै गएपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा, शुक्लागण्डकी–४ दुलेगौंडा आसपासका बस्तीमा श्वास फेर्नै मुस्किल बनायो । धेरैले सामाजिक सञ्जालमा श्वास फेर्नै मुस्किल भएको गुनासो पोखे ।


शुक्लागण्डकी नगरपालिका–४ र ५ को सिमनामा पर्ने कसेरीस्थित सेती नदी किनारको डम्पिङ साइटमा आगलागी भइरहेको फोटो र भिडियो पोस्ट्याउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै चर्को आलोचना गरे । ‘शुक्लागण्डकी नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने प्रक्रिया यही नै हो ? के हामी दिनभर फोहोरको धुवाँ लिदै बस्नुपर्ने हो ?’, एक जना युवा आकाश कार्कीले धुवाँले आजित बनाएपछि प्रश्न गरे ।


अर्का युवा सन्दिप बानियाँले फोहोर व्यवस्थापन भनेर कुनै शिर्षक त छ होला नि नगरपालिकाको ? भन्दै प्रश्न तेर्साए । ‘फोहोर सेतीमा बगाउने । सेतीको किनारमा जलाएर मात्र समाधान खोज्या हो ? दिगो हुने तरिकाले फोहोर व्यवस्थापन गर्न तर्फ लाग’, उनको सुझाव थियो ।


शुक्लागण्डी नगरपालिकाको बजार क्षेत्रबाट संकलन हुने फोहोरमैला सेती नदी किनारमा लगेर फ्याँक्ने गरिन्छ । त्यही फोहोरमाथि मंगलबार रातीदेखि आगो लागेको शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा बताउँछन् । यहाँ फोहोरमाथि बेलाबेलामा आगो लगाइदै आइरहेको छ । आगो लागेको थाहा भएपछि निभाउन नगरपालिकाबाट दमकल पठाएको उनको भनाइ छ ।


नगरपालिकाबाट नगरप्रहरीसहित पुगेको दमकलले ९ खेप पानी खन्याएर आगो निभाउने प्रयास गरेको छ । पूर्ण रुपमा भने आगो नियन्त्रणमा आउन सकेको छैन । केही मात्रमा आगोको निभ्न बाँकी रहेको थियो ।


फोहोरमैला फ्याँकिएको स्थानमा कस्ले आगो लगायो अनुसन्धान हुने शुक्लागण्डकी नगरपालिकाका वातावरण शाखाका इञ्जिनियर भीम सुवेदीले बताए । फोहोर फालिएको स्थानमा कवाडी संकलन गर्नेले आगो लगाएको हुन सक्ने उनको अनुमान छ । ‘कवाडी खोज्ने मान्छेले आगो लगाएपछि फलामजन्य पदार्थ निस्कन्छ । प्लाष्टिहरु जल्छन् भनेर हो की भन्ने शंका छ । अनुुसन्धान गर्दैछौं’, उनले भने ।


शुक्लागण्डकी नगरपालिकाले फोहोरमैला फाल्ने डम्पिङ साइटमा आगो लागेको यो पहिलो घटना भने होइन । यसअघि शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाको हेल्थपोष्टमुनि फोहोर फाल्दा पनि पटक पटक यसैगरी आगो लाग्ने गरेको थियो । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपाचार केन्द्र परिसरमा फोहोर फ्याँक्दा पनि आगो लगाएपछि बिरामी र तिनका आफन्तले आलोचना गर्दथे । पछिल्ला बर्षहरुमा कसेरीमा फोहोर फ्याँक्ने गरिन्छ । त्यहाँ आलो लागेर फोहोर जल्छ । बाँकी रहेको फोहोर बर्खाको बाढीले सेतीमा मिसाउँछ ।


शुक्लागण्डकी नगरपालिकाले फोहोरमैला संकलन केन्द्र निर्माण गरेको लामो समयसम्म पनि सञ्चालनमा ल्याउनै सकेको छैन । ५ वर्षअघि फोहोरमैला संकलन केन्द्र निर्माण भएको हो । अघिल्लो कार्यकालमा जनप्रतिनिधिबीचमै विवाद हुँदा संकलन केन्द्र प्रयोगमा आउन सकेको थिएन् । २०७९ मा निर्वाचित भएर आएका जनप्रतिनिधिको पनि कार्याकालको तीन वर्ष हुन लाग्दासमेत सञ्चालनमा ल्याउन सकेका छैन । अघिल्लो कार्यकाल र हालका जनप्रतिनिधिले दुई पटकसम्म फोहोरमैला संकलन केन्द्र सञ्चालनका लागि टेन्डर आह्वान गरेपनि विवादले गिँजोलिएपछि ठेक्का लाग्न नसकेको हो ।


शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक (राजुु) ले अब छिट्टै फोहोरमैला संकलन केन्द्र सञ्चालनमा ल्याउने दाबी गर्छन् । त्यसका लागि बहुराष्ट्रिय कम्पनी सूूर्य नेपाल प्रालिसँग सम्झौता हुने उनको भनाइ छ । ‘सम्झौताको अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधारको व्यवस्थापन सूर्य नेपालले गर्नेछ । घरघरबाट उठाएको फोहोर संकलन केन्द्रसँग नगरपालिकाले लैजानेछ’, उपमेयर विक भन्छन्, ‘केन्द्रभित्र पुगेपछि त्यसको स्क्यानिङ, सटिङ सूर्य नेपालको ग्रिन नेपालले गर्नेछ ।’ ग्रिन नेपालले प्लाष्टिकजन्य फोहोरबाट सडक कालोपत्रे गर्ने उनले सुनाए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.