तनहुँ
क्यान्सर रोगसँग जुधिरहेका सायान खत्रीको ‘बोनम्यारो’ प्रत्यारोपण गरिएको छ । बिहिबार दिल्लीको म्याक्स अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपण गरिएको हो ।
५४ दिनदेखि सायानको म्याक्समा उपचार भइरहेको छ । यो अवधिमा ९ पटक इन्टेन्स थेरापी, ४ पटक टार्गेट थेरापी र ६ सेसन रेडियोथेरापी गरिएको सायानका बुवा धुुर्ब खत्रीले बताएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार निवासी धुर्बका साढे ७ वर्षका छोरा सायान चार बर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रसित भएका थिए । निको हुने बेलामा रोग बल्झिएपछि सायानलाई पोखरा, काठमाडौं हुँदै भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा लगिएको थियो ।
चिकित्सकले डेढ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने बताएपछि धुुर्बले आर्थिक सहयोगको याचना गरेका थिए । लगत्तै तनहुँ खबरले आर्थिक संकलनका लागि दातासमक्ष आह्वान ग¥यो । त्यसपछि सायान खत्री बचाउ अभियान नै सञ्चालन गरिएको छ । हाल पनि सहयोग संकलन जारी छ ।
सहयोगीलाई धुर्वले अस्पतालबाटै आभार प्रकट गरेका छन् । ‘आर्थिक अभावको कारण उपचार नै रोक्नुपर्ने स्थितिमा पुगेको हाम्रो अवस्थामा सायनलाइ आफ्नै भाइ छोरा सम्झेर उपचारको लागि आर्थिक सहयोग गर्नुहुने देशविदेशमा रहनुहुने सम्पुर्ण आफ्न्तजन, साथिभाई, दाजुभाइ, दिदिबहिनी, बुवाआमा लगायत सबै भगवानरुपी दाताहरुलाइ हृदयदेखी नै आभार र धन्यवाद’, धुर्वले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘बोनम्यारो’ प्रत्यारोपणपछि सायानको स्वास्थ्य नाजुक रहेको उनले जानकारी दिएका छन् । ज्वरो, खोकी र पखाला बढिरहेको छ । अझै एक महिना खतरा हुने भएकाले आइसियूमा उपचार हुने उनको भनाइ छ ।