तनहुँ
दुलेगौंडामा पोषणका निम्ति उत्तम मानिने सर्वोत्तम पिठो बनाउने एडभान्स तालिम दिइएको छ । महिला उद्यमी संघ नेपाल शुक्लागण्डकी नगर इकाइ समितिको आयोजना र शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा तीन दिने एडभान्स तालिम दिइएको हो । तालिमको शनिबार समापन गरिएको छ ।
तालिम समापनमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’ ले तालिम लिएपछि उद्यमशिलतासँग जोडिनुपर्ने बताए । तालिम लिएर व्यवहारमा उतार्ने बानिको विकास गर्नुपर्ने उनको भनाइ थियो । व्यवसायिक बनाउन नगरपालिकाले लागत साझेदारी गर्न तयार रहेको उनको भनाइ थियो । ‘हामीले पूरा गर्ने उत्तरदायित्व वहन गर्नेछौं’, उनले भने ।
तालिमका प्रशिक्षक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यले खाद्य वस्तुमा सरसफाइ नगर्दा चुनौती देखिने बताए । सिकाइलाई प्रयोग गर्दै उद्योग स्थापना गर्न उनको सुझाव छ । ‘यसले धेरै जनालाई रोजगारीमा जोड्न सकिन्छ’, उनको भनाइ थियो । गुणस्तरमा ध्यान दिएमा सातु (सर्वोत्तम पिठो) को बजार राम्रो रहेको आचार्यले बताए ।
तालिम संयोजक सरस्वती गौतमले तालिम तालिममा मात्रै सीमित नगर्ने उद्घोष गरेकी छन् । नगरपालिकासँग सहकार्य गरेर आर्थिक आत्मनिर्भरको बाटोमा लाग्ने बताइन् । उद्योग सञ्चालनका लागि बजेट व्यवस्थापन गर्नका लागि नगरपालिकासँग उनको माग छ ।
तालिममा सहभागी पार्वती पौडेलले सिकाइलाई व्यवहारमा उतार्ने बताइन् । ‘आर्थिक पाटोमा पनि जोडिन सर्वोत्तम पिठोको उद्योगले शुक्लागण्डकीलाई चिनाउने अभियानमा छौं’, उनले भनिन् ।
महिला उद्यमी संघ नेपाल शुक्लागण्डकी नगर इकाइ समितिका अध्यक्ष तुलसी शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जोशिला थापाले स्वागत र सचिव सपना पराजुलीले सन्चालन गरेकी हुन् । तालिममा २० जना सहभागी थिए । पहिलो चरणको तालिम एक महिना पहिले चलाइएको थियो ।