साँखेमा सुरु भयो महायज्ञ, पहिलो दिनमा एक लाख २३ हजार दान संकलन

दुलेगौंडा– तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेमा महायज्ञसहितको महाशिवरात्री धार्मिक महोत्सव सुरु भएको छ । साँखेको देवल शिवालय मन्दिरको स्तरोन्नती गर्नलाई धार्मिक महोत्सव गरिएको हो ।

धार्मिक महोत्सवको पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले उद्घाटन गरे । भण्डारीले नेपाल सनातन हिन्दु धर्म मान्नेको देश भएको दाबी गरे । सबै धर्मको सम्मान गर्दै सनातन हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।हिन्दु धर्मकै कारण देशको आर्थिक स्तर सुधार्न सकिने उनको भनाइ थियो ।

मूल संयोजक गंगाराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य कमल ढकाल, नेपाली काँग्रेस तनहुँ २ का सभापति चुडामणी खनाल, नेकपा एकिकृत समाजबादी पार्टीका गण्डकी प्रदेश सचिवालय सदस्य थमनबहादुर आले, नागरिक पहिलो अभियानका भद्रबहादुर खत्री लगायतले धार्मिक महोत्सवले साँखेको सम्भावनालाई उजागर गर्न सक्नुपर्नेमा जोड दिए ।

पण्डित कपिल भट्टले कथा वाचन गर्ने महायज्ञको पहिलो दिन एक लाख २३ हजार दान संकलन भएको छ । प्राप्त आर्थिक संकलनबाट शिवालय क्षेत्रको विकास गरि धामको रुप दिइने उदेश्य राखिएको मुल संयोजक भट्टराईले बताए । महोत्सवको उद्घाटनपूर्व कलशयात्रासहित झाँकी ¥याली भएको थियो ।

महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती सहितको धार्मिक महोत्सवबाट संकलन भएको रकमले मन्दिरको भौतिक विकाससँगै, दैनिक पुजा पाठ सुरु गर्ने जनाइएको छ ।

महायज्ञमा श्रीमद् भागवत् पाठपारायण, चण्डिपाठ, रुद्रीपाठ, सहश्र जलधारा, ग्रहशान्ति, चौरासी पुजा, पितृतर्पण,तुलादान अखण्ड दिपप्रज्वलन र ठाडो बत्ती वाल्ने लगायतका कार्यक्रम समेटिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.