रविको मुद्वामा सरकारी वकिलको कार्यालयको बहस सकियो, आदेशको तयारी

पोखरा-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको मुद्वामा सरकारी वकिलको बहस सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालसमा बिहिबार दिउँसो सरकारी वकिलको कार्यालयको तर्फबाट जवाफी बहस सकिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले र उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए । आज नै थुनछेक आदेश आउने तयारी भएको उनको भनाइ छ । थुनछेक आदेशले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने या तारेखमा छाड्ने निर्णय गर्नेछ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको थुनछेक बहस सकिएपछि हिजोदेखी जवाफी बहस सुरु भएको हो ।

सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते जिल्ला अदालत कास्कीमा ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दायर गरेको हो ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा बचतकर्ताले प्रहरीमा उजुरी दिएपछि गतवर्षको असोज १८ गते जिबी राईलगायत १९ जनाविरुद्ध मूल मुद्दा दर्ता भएको थियो । जिबी राईसहित १९ जनाविरुद्ध पुस ५ गते पनि थप अभियोजन दर्ता गरिएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.