ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी

तनहुँ

तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा जाहेरी दर्ता भएको छ । भीमाद नगरपालिका–६ बस्ने ५७ वर्षीय प्रभात आलेले हुलाकमार्फत पठाएको जाहेरी प्रहरीले दर्ता गरेको हो ।

गएको फागुन १३ गते प्रभात आफैं इलाका प्रहरी कार्यालय बेलचौतारा पुगेर जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले राजनीतिक दबाबका कारण दर्ता गरेको थिएन । आलेले पछि बैशाख १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला सरकारी वकिलको कार्यालयलाई हुलाकमार्फत जोहेरी पठाएका थिए । बैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा जोहरी पुगेको थियो । त्यसको ३ दिनपछि मात्रै दर्ता भएको थियो ।

जाहेरी दर्ता भएको विषयमा प्रहरीले सूचना लुकाईरहेको थियो । हुलाकमार्फत आएको जाहेरी व्यक्तिलाई झिकाएरसमेत सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए । ‘कागज गर्ने लगायतको प्रक्रिया बेलचौतारा (इलाका प्रहरी कार्यालय) मार्फत भइरहेको छ’, उनले भने ।

कुटपिटको घटना फागुन ७ गते रातिको हो । प्रहरीले जाहेरी लिन नमानेपछि बल्ल घटनाबारे लामो समयपछि सार्वजनिक भएको थियो । तर, घटना सार्वजनिक हुदाँसम्म जाहेरी दर्ता भएन ।

नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा प्रभात आलेलाई कुटपिट गरेको आरोप लगाइएको छ ।

कुटाइ खाएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन् । प्रभातका दाई जीतप्रकाश आले हाल गण्डकी प्रदेश सभा सदस्य छन् ।

जाहेरी दिएका आलेका अनुसार भाइ विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए । ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति थियो । सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भयो । विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको उनका आरोप छ । आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.