रवि लामीछाने भन्छन्ः आम नागरिकले जे बोलिरहेका छन् त्यो नै मेरो भनाइ

पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आफू बेला आएपछि मात्रै बोल्ने बताएका छन् । जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न गरेको थुनछेक आदेशको पुनरावेदन माग गर्न उच्च अदालत पोखरा पुगेका लामीछानेले अहिले आफू बोल्ने बेला नभएको बताए ।

उच्च अदालतको परिसरमा पोखरेली सञ्चारकर्मीले प्रश्न सोध्न थालेपछि आफूले भन्नु केही नरहेको सुनाए । ‘छैैन मेरो भन्नुपर्ने केही पनि छैन । कानुन व्यवसायीहरुले भन्नुहोला । मैले बोल्ने बेला आएपछि बोलिहाल्छु चिन्ता नगर्नुहोला । अहिले मेरो भन्ने केही पनि छैन’, मुस्कानका साथ उनले थपे, ‘तपाईंहरु सबैलाई धेरै धेरै धन्यवाद । बेला आइहाल्छ नि बोल्ने । त्यतिखेर म नबोल भनेनि बोलुला । अहिले मेरो बोल्ने बेला भाको छैन ।’

सञ्चारकर्मीले उनलाई थोरै केही त बोल्नु भन्दै कर गरे । त्यसपछि रविले आम नागरिकले जे बोलिरहेका छन् त्यो नै मेरो भनाइ भने । ‘देशभरका नागरिकले जे बोलेका छन् त्यो जनताको अदालत छ । हवस त्यति मात्रै भन्छु समय आएपछि’, उनी विदा भए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलाई छाड्न आदेश दिएको थियो । रविलाई तोकेको धरौटी रकम बढी भएकाले साधारण तारेखमा रहेर मुद्वाको पुर्पक्ष गर्न पाउँ भनेर जिकिरसहित निवेदन दर्ता गराएको रविका कानुन व्यवसायी रोहितराज बास्तोलाले बताए । ७३ नम्बरको निवेदन दर्ता गराएको उनको भनाइ छ ।

धरौटीमा छाड्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ । माघ ७ गते रवि लामिछानेलगायत सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीले धरौटीमा छाडेका सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो ।

उच्च अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न कैफियत प्रतिवेदन माग गरेको छ । माघ ८ गते न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र कैफियत प्रतिवेदन बुझाउन आदेश गरेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.