काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आफूलाई दुई तिहाईको सरकारले जिउँदै छाड्नु नै जीत भएको जिकिर गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालय वनस्थलीमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले अदालतको आदेशलाई समेत अपव्याख्या भइरहेको बताए ।
‘के भयो के भएन मैले भन्न चाहिनँ । कतिपयले भन्ने गरेका छन् केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो त अदालतले भन्ने गरेका छन्’, उनले भने, ‘अदालतको प्रारम्भिक आदेशलाई समेत अपव्याख्या गरेर अपमान गरिरहेको मैले सुनिरहेको छु । म यत्ति भन्न चाहान्छु तिमीहरुको दुई तिहाईको सरकारले मलाई जिउदै छाडेको छ यही नै मेरो जीत हो । ’
लामीछानेले शरीरमा एक थोपा रगत रहुन्जेलसम्म लुटतन्त्रको विरुद्धमा उत्रने बताएका छन् । ‘चाहे जतिवटा मुद्वा लगाउनुछ लगाँउ । ज्यान मार्नुछ मार’, चेतावनीको भाषामा उनले भने, ‘मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन । र माग्नेवाला पनि छैन ।’
उनले भनेका छन्, ‘मलाई थाहा छ, यदि म राजनीतिमा हुन्नथे भने मैले यो दुख खेप्नुपर्ने पनि थिएन ।’ संघीय लोकतान्त्रिक गणतन्त्रकोे आड लुटतन्त्र मच्चाइरहेकालाई खबरदारी गर्न रवि लामीछाने कहिल्यै पछाडि नहट्ने चेतावनी दिए । उनले आफू केही समय शान्त बसौं भनेर सोंचेपनि तर सरकारले फाइदा उठाएर तरबार झुन्डाएको बताए ।
‘यिनलाई लागेको छ होला यसको टाउकोमाथि तरबार झुन्डाएर राख्यो भने यो चुपचाप बस्छ । यो डराउँछ भनेर लागेको थियो होला’, उनले थपे, ‘कुनैपनि बेला शीरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएर बसेको छु ।’
आफू जुनैसुकै शक्तिसँग लड्न तयार रहेको लामीछानेले बताए । तर, लुटतन्त्रविरुद्ध टुलुटुलु हेरेर नबस्ने उनले दाबी गरे । उनले आफूविरुद्ध अझै षडयन्त्र गर्न आग्रह गर्दै अदालतप्रति आशावादी नै रहेको बताएका छन् । थप केही मुद्वा लगाउन बाँकी रहेपनि लगाउन सरकारलाई उनको आग्रह थियो ।