दुलेगौंडा– सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको मुद्वामा प्रतिवादीहरुको थुनछेक बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने जोडिएको मुद्वामा बुधबार प्रतिवादीहरुको तर्फबाट बहस सकिएको हो ।
बुधबार नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको बहससँगै प्रतिवादीको तर्फबाट सकिएको हो ।
मंगलबारदेखि रामबहादुरतर्फको बहस सुरु भएको थियो । बुधबार उनीसहित बाँकी तीन जनाकोतर्फको बहस सकाएर जवाफी बहस सुुरु भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए । ‘जाहेरवालाको जवाफी बहस पनि सकिएको छ । भोलि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ’, अधिकारीले भने, ‘सम्भवत भोलि साँझसम्म थुनछेक आदेश आउन सक्छ ।’
सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, हरि कट्टेल, रमन कर्ण र बिबी विष्टले बहस गरेका थिए ।
सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते जिल्ला अदालत कास्कीमा ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दायर गरेको हो ।
पूर्वगृहमन्त्री रवि लामीछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको वयान लिएसँगै गत हप्ताको मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा बचतकर्ताले प्रहरीमा उजुरी दिएपछि गतवर्षको असोज १८ गते जिबी राईलगायत १९ जनाविरुद्ध मूल मुद्दा दर्ता भएको थियो । जिबी राईसहित १९ जनाविरुद्ध पुस ५ गते पनि थप अभियोजन दर्ता गरिएको हो ।