पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेका कानुन व्यवसायीले राजनीतिक प्रतिशोध साँधेर निर्दोष मान्छेलाई फसाइएको तर्क गरेका छन् ।
सहकारीमा आबद्ध नभएका मान्छेलाई पनि दुख दिइएको उनीहरुको भनाइ थियो ।
पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामीछानेको सोमबारदेखि थुनछेक बहस सुरु भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालसमा रविका तर्फबाट वरिष्ठ अधिवक्त रमण श्रेष्ठ, सुशील पन्त र सुरेन्द्र थापाले बहस गरे । तीनै जनाको एउटै तर्क थियो, ‘रविले सूर्यदर्शन सहकारीको पैसा खाएको मासेको छैनन् ।’
कानुनी हिसाबले रवि सहकारी प्रकरणमा नमुछिने बहस गरेका छन् । रविको राजनीतिक भविष्य सिध्याउने खेल भइरहेको कानुन व्यवसायीले बताएका हुन् ।
कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामीछानेको सोमबारदेखि बहस सुरु भएको हो । मंगलबार पनि रविकै बहसले निरन्तरता पाउनेछ ।
रविका तर्फबाट रमण, शुसील र सुरेन्द्रसँगै वरष्ठि अधिवक्ता डा. नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बास्तोला, अधिवक्ता डा. नारायण कँडेल, सुरज बस्नेत, राजेन्द्र सेढाईंले लगायतले बहस गर्नेछन् ।
रविविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले दायर गरेको मुद्वामा सम्पत्ती शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ गैरकानुनी तवरले आर्जन गरेको अभियोग लागेको छ । सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिवादीको वयान सकाएर गत मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो । मंगलबार र बुधबार जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो । बिहिबार पीडित सहकारीका बचतकर्ताका कानुन व्यवसायीले बहस गरे । शुक्रबार र आइतबार पूर्वडिआइजी छविलाल जोशी र लिला पछार्ईंका कानुनी व्यवसायीले बहस गरेपछि रविको सुरु भएको हो ।
नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, पूर्वउपाध्यक्षसमेत रहेकी पूर्व गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङको तर्फबाट बहस हुन बाँकी नै छ ।