पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने जोडिएको सुर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको कार्यालयबाट जवाफी बहस सुरु भएको छ । केहीबेर अगाडिदेखि जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजालसमा जवाफी बहस सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामीछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको थुनछेक बहस सकिएपछि हिजोदेखी जवाफी बहस सुरु भएको हो ।
सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, हरि कट्टेल, रमन कर्ण र बिबी विष्टले बहस गरेका थिए ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको मुद्वामा सरकारी वकिलको कार्यालयको जवाफी बहस सकिएपछि थुनछेक आदेश आउने जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए । आज थुनछेक आदेशको सम्भावना रहेको उनको भनाई छ । पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने या तारेखमा छाडेर मुद्दाको छिनोफानो गर्ने थुनछेक आदेशले तय गर्नेछ ।
सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते जिल्ला अदालत कास्कीमा ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दायर गरेको हो ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा बचतकर्ताले प्रहरीमा उजुरी दिएपछि गतवर्षको असोज १८ गते जिबी राईलगायत १९ जनाविरुद्ध मूल मुद्दा दर्ता भएको थियो। जिबी राईसहित १९ जनाविरुद्ध पुस ५ गते पनि थप अभियोजन दर्ता गरिएको हो ।