पोखरा
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको मुद्वामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको वयान सकिएको छ । आज दोस्रो दिन लिइएसँगै रविको वयान सकिएको हो ।
बिहिबार दिउँसोदेखि सुरु भएको रविको वयान शुक्रबार दिनभरै लिइएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए । सूर्यदर्शन सहकारीको मुद्वामा तीन जना प्रतिवादीको वयान सकिएको उनको भनाइ छ ।
रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्वामा केन्द्रित रहेर जिल्ला न्यायाधिश नीतिज रार्ईको इजालसमा प्रश्न गरिएको थियो । उनले सहकारीको रकम ठगीमा गितेन्द्र राई (जीबि) जिम्मेवार रहेको र आफ्नो कसुर नरहेको इन्कारी वयान दिएका छन् ।
पूर्वगृहमन्त्री रहेका रविसँगै पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंको वयान सकिएको हो । उनका अनुसार अब ४ जनाको वयान बाँकी छ ।
सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, सूर्यदर्शनकी पूर्वउपाध्यक्षरहेकी एमालेकी पूर्वसांसद मिना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङको वयान बाँकी छ । उनीहरु अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
आइतबारदेखि उनीहरुको वयानले निरन्तरता पाउनेछ । वयान सकाएपछि थुनछेक बहस र आदेश हुने स्रेस्तेदार खनाल बताउँछन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार रवि, छवि लगायत ४४ जनालाई प्रतिवादी बनाएर अभियोग दायर गरेको हो । सोमबारदेखि सुरु भएको वयान हालसम्म तीन जनाको सकिएको छ ।