पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने धरौटी बुझाएर रिहा भएका छन् । उनले बैंक ग्यारेन्टीमार्फत ६५ लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन् ।
जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालसले सूर्यदर्शन सहकारीको मुद्वामा रवि लगायत कास्की प्रहरीको हिरासत रहेका सात जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको थियो । रविले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएपछि रिहा गरेको जिल्ला कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
उनी ८४ दिन जिल्ला अदालत कास्कीको हिरासत बसाँइपछि रिहा भएका छन् । कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयबाट पक्राउ परेका थिए । कात्तिक ३ गते विहानपख कास्की प्रहरीको हिरासतमा उनलाई ल्याइएको थियो ।
उनी आफैं भोलि जिल्ला अदालत काठमाडौं उपस्थित हुने भएकाले प्रहरीले पक्राउ नगर्ने भएको छ । लामिछानेविरूद्ध काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको मुद्वा दायर भएको छ । जिल्ला अदालतलेसमेत पक्राउ पुर्जी जारी गरेको अवस्था भएकाले पक्राउ गरेर काठमाडौं प्रहरीलाई बुझाउने तयारीबाट प्रहरी पछाडि हटेको छ ।
रविसँगै गोरखा मिडिया नेटवर्कका सञ्चाल छविलाल जोशी पनि ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । नेचर हब्र्सका सञ्चालक रामबहादुर खनालले १५ लाख धरौटी बुझाएका छन्।
यसअघि पूर्वसांसदसमेत रहेकी सूर्यदर्शन सहकारीकी संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङले धरौटी बुझाएर रिहा भएका छन्। मिना र आरतीले ५/५ लाख रुपैयाँ र कृष्णबहादुरले १ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने अदालतले थुनछेक आदेश जारी गरेको छ।
लिला पछाईंसँग ३७ लाख रुपैयाँ धरौटी माग गरिएको छ। अब उनको मात्रै धरौटी आउन बाँकी रहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारीले बताए ।