रविविरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएपछि अब के हुन्छ ?

पोखरा


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने लगायतविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।


लामीछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराध मुद्वामा अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ । हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसहित ५१ जनालाई प्रतिवादी बनाएर कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्त कुमार शर्माले बताए ।


प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपनि मंगलबार भने रविको म्याद थप हुने जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायधिवक्ता कमला काफ्लेले बताइन् । प्रतिवेदनको अध्ययन विश्लेषणपश्चात मात्रै अभियोजन दर्ता हुने उनको भनाइ छ ।


‘प्रतिवेदन अध्ययन विश्लेषण गर्छौं । त्यसपछि मुद्वा चल्ने, नचल्ने के कति कसुरमा प्रतिवादीहरु उपर चल्छ सबै विश्लेषण गरेर मुद्वा चल्ने नचल्ने निर्णय हुन्छ’, उनले भनिन् ।


पुरक र थप गरेर दुईवटा अभियोगपत्र हुने उनले जानकारी गराइन् । ‘पहिला लगाइसकेका प्रतिवादीहरु उपर थप कसुर र बिगोहरु भएको अवस्था छ । थप बचतकर्ताहरुको पनि जाहेरी परेकाले’, जिल्ला न्यायधिवक्ता काफ्ले भन्छिन्, ‘पहिला लगाइसकेका प्रतिवादीहरुप्रति थप अभियोग लगाउछौं । नयाँ पक्राउ परेका प्रतिवादीहरुलाई पूरक अभियोगपत्र लगाउँछौं ।’ अनुसन्धान प्रतिवेदन अध्ययन गरेर भोलि नै अभियोग दर्ता गर्न सम्भव नरहेको उनको भनाइ छ ।


रविलाई पछिल्लो पटक गत बिहीबार जिल्ला अदालत कास्कीले ५ दिन हिरासतमा राखेर अनुसन्धान म्याद थपिदिएको थियो । रविलाई कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो । भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपु¥याइएको हो ।


पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गैरकानुनी तरिकाले गोखरा मिडिया नेटवर्कमा लगेको आरोपमा पक्राउ परेपछि रविलाई काठमाडौं, बुटवल, चितवन र वीरगञ्ज लगेर वयान लिइएको थियो ।


पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको सहकारी छानबिन संसदीय विशेष समितिले प्रतिवेदनमा उल्लेख गरेपछि लामीछाने अनुसन्धानमा तानिएका हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.