सहकारी मुद्वामा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख पक्राउ

पोखरा

सहकारीको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउदेश्यिय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा थापालाई पक्राउ गरेको हो । थापा सहकारीको पूर्वअध्यक्ष हुन् ।

उनी नेकपा एमालेको तर्फबाट बेनी–१ को वडा सदस्यमा निर्वाचित भएका थिए । पछि उनी जिल्ला समन्वय समिति प्रमुख भएका हुन् । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्रअनुसार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले बताए । सहकारी ऐन २०७४ अन्तर्गत परिभाषित कसुरमा अनुसन्धान गर्न पक्राउ गरेको उनको भनाइ छ ।

थापासँगै कुमारी सहकारी प्रकरणमा ६ जनालाई पक्राउ गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिं बस्ने ६७ वर्षीय मनप्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तान बस्ने ६६ वर्षीय थमबहादुर गर्बुजा, बेनी नगरपालिका–१ रत्नेचौर बस्ने ४९ वर्षीया देवीकुमारी थापा, पर्वत लेखफाँटका ५३ वर्षीय रुद्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई अनुसन्धानका लागि म्याद थपको पक्रियामा रहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले तयार पारेको वित्तीय विश्लेषण तथा छानबिन प्रतिवेदन अनुसार १ अर्ब ४९ करोड रुपैयाँ हिनमिना भएको खुलेको थियो । तर, पछि प्रक्रिया पूरा गरेर हिनामिना रकम घटाएको बुझिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.