तनहुँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । उनले देशलाई अहिले स्थितिबाट पार लगाउन राजा फर्काउनुपर्ने बताए ।
जनताले युवा बेचेर नेता पाल्ने काम गर्न नसक्ने उनको भनाइ थियो । ‘त्यसकारण दलहरु चाँडो सच्चिनु । नत्र भए नेताहरुलाई थाहा होला निर्मल निवास र नारायणहिटीको दूरी कति छ ? हामी जसरी तपाईंहरुले राजालाई जर्बजस्त विस्थापित गर्नुभो निर्मल निवासबाट डो¥याउँदै डो¥याउँदै नारायणहिटी पु¥याउन तयार छौं । त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन’, उनले चेतावनि दिए ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका लागि ठूला दलहरुले के बाट परिचालित थिए फटाफट बाहरि आइरहेको उनले उल्लेख गरे ।शुक्रबार भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीले पोखरामा आयोजना गरेको वृहत विरोध सभामा बोल्दै लिङ्देनले राजालाई ल्याएर देशलाई पछाडि फर्काउन नभइ सुधार गर्न लागेको दाबी गरे ।
‘हामीले पछाडि फर्कने भनेको होइन । राजाको चहाना पनि पछाडि फर्कने होइन । हामी सबको चाहना देश अब यहीं स्थितिमा रही राख्न सकिदैन’, उनले भने, ‘देश अब यही बाटोबाट हिँडिराख्न सक्दैन । र अब हिजोका पनि राम्रा कुराहरु आजका पनि केही राम्रा कुराहरु सबैलाई समेटेर नयाँ बाटो तय गर्नुपर्छ ।’
लिङ्देनको आह्वान छ, ‘नयाँ समझदारी गरौं । जहाँ राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न सकौं । र सबै मिलेर देशलाई विकास गरौं । म यो आह्वान गर्न चाहन्छु । दलहरुले ढिला नगर्नुस् ।’
उनले माओवादी भन्दा पनि कांग्रेस एमालेलाई राजा ल्याउने विषयमा सोच्नुपर्नेमा जोड दिए । माओवादीको सबै एजेन्डा बोक्न तयार दल भएको उनले जिकिर गरे । ‘तपाईहरु त्यो पार्टी हो जसले ०५२ साल फागुन १ गते तत्कालिन माओवादीहरुले संविधान सभाको माग गरेर आउँदाखेरि संविधानसभाको चुनावसम्म स्वीकार गर्नुभएन । माओवादी विद्रोहमा गयो’, लिङदेनले थपे, ‘१० वर्षे द्वन्द्व, हिंसा, रक्तपात, ठूलो नोक्सानीपछि तपाईंहरुले संविधान सभामात्रै स्वीकार गर्नुभएन । माओवादीका सबै एजेन्डा स्वीकार गर्नुभो । गणतन्त्र पनि स्वीकार गर्नुभो, धर्म निरपेक्षता पनि स्वीकार गर्नुभो । संघियता के–के हो माओवादीको सबै एजेन्डा बोक्न तयार हुनुभो । त्यसकारण म आशा गर्छु तपाईंहरु लचिलो पार्टी हो ।’
अहिले पनि कांग्रेस एमालेले हिजो गल्ती भएछ भन्ने स्वीकार गर्ने उनको विश्वास छ । ती दलले देशलाई निकास दिने अपेक्षामा रहेको बताए । तर, देशलाई जर्बजस्त यसरी नै लान्छु भन्ने ठानेको भए सम्भव नरहेको उनको ठम्याइ छ । ‘देश यसरी चल्दैन र जनता पनि चुप लागेर बस्दैन । र राष्ट्रिय प्रजातन्त्र पार्टीले तपाईंहरु विरुद्धको आन्दोलनको नेतृत्व गर्छ । हाम्रो आग्रहलाई कमजोर ठान्नुभो भने याद राख्नुस् छिनोफानोका लागि सडकमा आउन बाध्य हुन्छौं’, उनले धम्काउन भ्याए ।
पोखरामा लिङदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गरे । उनले सांसद मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘सांसदले मन्त्री हुन नपाउने व्यवस्था हुनुप¥यो । सांसदले मन्त्री हुन नपाउने व्यवस्था भइसकेपछि अनि नेतालाई पैसा दिएर टिकट लिन कोही जान्छ त ? सांसदले मन्त्री हुन नपाउने व्यवस्था भएपछि मान्छे किनेर भोट जित्न कोही जान्छ त ?’, प्रश्न तेर्साउदै उनको सुझाव छ, ‘देश एउटा निर्वाचन क्षेत्र हुन्छ । पार्टीहरुले कस्तो घोषणा पत्र ल्याउँछन् । र पार्टीहरुले कस्तो ऐन कानुन बनाउन खोजेका छन् ? त्यसमा कस्ता मानिसहरुको सूची राखेका छन् त्यो हेरेर दललाई पार्टी मान्छेले भोट दिन्छन् ।’
पूर्वको पाथिभरामा सरकार आफैं जनतासँग भिडन्तमा ओर्लेको टिप्पण लिङदेनको छ । ‘पूर्वमा अहिले मारामार चलिराखेको छ । पूर्वमा सरकार आफैं जनतासँग भिडन्तमा ओर्लेको छ । तपाईहरुले सुन्नुभाछ मुक्कुमलुङ पाथिभरा भनेर । त्यहाँ केबलकार बनाउने नाममा आज ठूलो द्वन्द्व भइराखेको छ । अहिले यतिबेला पनि त्यहाँ हिंसात्मक काम भइराखेको छ । मारामार गोली चलेको छ ’, उनको आरोप थियो ।