दुलेगौंडा– रेडियो ढोरबाराही १०३.८ मेगाहर्जले आयोजना गरेको एक हप्ते उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । पत्रकारिता क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरिएको हो ।
तालिममा सहभागि भएका आठ प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले पत्रकारिता मर्यादित पेशा हँुदा समेत जनशक्ति अभाव हुनु दुखद भएको बताए । ‘आफ्नो क्षमताको विकास र व्यक्तिगत रुपमा सामाजिक पहिचान बनाउन पत्रकारिता क्षेत्र महत्वपूर्ण रहन्छ’, उनले भने। स्थानीय सञ्चार माध्यममा जनशक्ति उत्पादन गर्न नगरपालिकाले सहयोग गर्ने उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले पत्रकारिताले व्यक्तित्व विकासमा सहयोग पु¥याउने बताए । अध्ययनसँगसँगै रोजगारीमा जोडिन सकिने भएकाले पत्रकारिता सिक्न जरुरी रहेको उनको भनाइ थियो ।
रेडियोका प्रसारण समिति संयोजक ज्ञानप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले सञ्चार माध्यमको अवस्था खस्कदो रहेको बताउदै स्थानीय सरकारले चासो दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रेडियोका उपाध्यक्ष खेमराज खनालले स्वागत र सचिव हरि खड्काले सञ्चालन गरेका हुन् ।