तनहुँ
तनहुँको दुलेगौँडाबाट प्रसारित रेडियो ढोरबाराही १०३.८ मेगाहर्ज रेडियो सेट र डस्टबिन बाँडेको छ । आफ्नो प्रशारण यात्राको १५ औं बर्ष प्रवेशको अवसरमा रेडियोले आइतबार शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्रका चिया र खाजा पसलमा १४ वटा रेडियो वितरण गरेको हो । देशकै नमुना विद्यालय पञ्चमुनीदेव माध्यममिक विद्यालयमा डस्टबिनसमेत वितरण गरेको छ ।
रेडियोका उपाध्यक्ष खेमराज खनाल, प्रसारण उपसमिति संयोजक ज्ञानप्रसाद भण्डारी लगायत सञ्चालक समितिका सदस्यको उपस्थितीमा रेडियो तथा डस्टबिन वितरण गरिएको हो । स्रोताको संख्या बढाउनुका साथै स्थानीयलाई स्थानीय समाचार र जानकारीबाट सुसूचित बनाउन उदेश्यले रेडियो वितरण गरिएको रेडियोका अध्यक्ष कृष्णराज पण्डितले बताए ।
उपाध्यक्ष खेमराज खनालले राजनीतिक, सामाजिक तथा आर्थिक चेतनाको स्तर वृद्धि गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।
डस्टबिन ग्रहण गर्दै पञ्चमुनीदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारीले रेडियोमार्फत सकरात्मक कार्यभएको भन्दै आगामी दिनमा पनि सहकार्यलाई अझै कसिलो बनाउने बताए ।
२०६८ साउन ४ गते स्थापना भएको रेडियोले सूचना, समाचार र मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्ने गर्दछ । रेडियो तनहुँ जिल्लासहित स्याङ्जा, कास्की, नवलपूर, गोरखा र लमजुङ लगायतका जिल्लामा सुन्न सकिने स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिए ।